बाइडेन र बेन्नेटसँग युक्रेनका राष्ट्रपति जेलेन्स्कीको फोनवार्ता

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायलका प्रधानमन्त्री नाफ्तली बेन्नेटसँग टेलिफोन वार्ता गर्नुभएको छ।

बाइडेनसँगको वार्तामा सुरक्षा, युक्रेनलाई आर्थिक सहयोग र रुसमाथि प्रतिबन्ध लगाउने विषयमा छलफल भएको राष्ट्रपति जेलेन्स्कीले ट्वीट गरी जानकारी दिनुभएको छ । त्यस्तै जेलेन्स्कीले इजरायलका प्रधानमन्त्री बेन्नेटसँग आफ्नो देशको पछिल्लो अवस्था र सहयोगबारे छलफल गर्नुभएको थियो।

जेलेन्स्कीको अनुरोधमा इजरायल रुस र युक्रेनबीच मध्यस्थता गर्न इच्छुक देखिएको छ । जेलेन्स्कीले बेन्नेटसँग फोनवार्ता गर्नुअघि बेन्नेटले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई मस्कोमा भेट समेत गर्नुभएको थियो।

पश्चिमा र रुससँग बराबर सम्बन्ध राख्ने इजरायली प्रधानमन्त्रीको मस्को भ्रमणलाई युक्रेन युद्ध रोक्ने पहलको रुपमा विश्लेषण गरिएको छ।