युक्रेनको राजधानी किभका मेयर भिटाली क्लिट्स्कोले चरम ऊर्जा सङ्कट भएका कारण सहर छोड्नुपर्ने अवस्थाको लागि तयार रहन त्यहाँका बासिन्दालाई आग्रह गरेका छन् । रुसी आक्रमणका कारण किभमा चरम ऊर्जा सङ्कट भएको भन्दै उनले सहरबाट बाहिरिनु पर्ने अवस्था आउन सक्ने र त्यसका लागि तयार रहन भनेका हुन् ।

लाखौँ युक्रेनी नागरिक बिजुली र खानेपानीबाट वञ्चित भएका कारण आउँदो दिनमा थप समस्या हुनसक्ने भन्दै सहर छोड्ने मनस्थितिमा रहन उनको अपिल आएको हो ।
युक्रेनी टेलिभिजनमार्फत सम्बोधन गर्दै मेयर भिटालीले युक्रेनको ऊर्जा प्रणालीको लगभग ४० प्रतिशत बिजुली प्लान्टहरु ध्वस्त भइसकेका कारण युक्रेनका अन्य सहरहरुमा पनि पूर्णरुपमा बिजुली आपूर्ति ठप्प हुने सङ्केत देखिएको बताएका बीबीसीले जनाएको छ ।
उहाँले युक्रेनको पूर्वाधारमा गरिएको रुसी आक्रमणलाई आतङ्कवाद र नरसंहारको संज्ञा दिँदै रुसको डटेर सामना गर्ने चेतावनी समेत दिएका छन् ।

फरकबाटो २१ कार्तिक २०७९, सोमबार ०९:११