रुस र अमेरिकाले प्रतिबन्धबारे वार्तालाई निरन्तरता दिने

एजेन्सी । रुस र अमेरिकाले पछिल्ला प्रतिबन्धबारे वार्तालाई निरन्तरता दिने भएका छन् । रुसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले मस्को र वाशिङ्टनले वर्तमान भूराजनीतिक अवस्थाको पृष्ठभूमिमा वार्ताका केही माध्यम कायमै राखेको बताउनुभएको छ ।

युक्रेनमा भइरहेको घटनाक्रम, विश्वभरबाट आएको दबाब र प्रतिबन्धबारे सोधिएको प्रश्नमा प्रवक्ता दिमित्रीले अमेरिकासँग वार्ताका केही माध्यमहरू कायम राखेको जवाफ दिनुभएको रुसी समाचार संस्था तासले जनाएको छ ।

युरोपेली सङ्घ, बेलायत, अमेरिका र क्यानडाले आफ्नो आकाशमा रुसी विमान उड्न प्रतिबन्ध लगाएका छन् । रुसले समेत जवाफी प्रतिबन्ध लगाएको छ । यसअघि रुस र युक्रेनबीच भएको दुई चरणको शान्तिवार्ता भने असफल भएको थियो ।

युक्रेनमा रुसले आक्रमण गरेको विरोधमा प्रतिबन्ध र प्रदर्शन बढ्दै गएका छन् । थाइल्यान्ड, इङ्ग्ल्यान्ड, क्रोयसिया, स्वीट्जरल्यान्डलगायतका देशमा विरोधमा प्रदर्शन भइरहेका छन् भने सर्बियामा रुसको पक्षमा प्रदर्शन भएको बीबीसीले जनाएको छ । रुसले युक्रेनमा आक्रमण गर्न थालेको आज एघारौँ दिन हो । युक्रेनका मुख्य सहरमा आक्रमणका घटना भइरहेका छन् ।