भारतको १५औँ राष्ट्रपतिमा चुनिएकी द्रौपदी मुर्मूद्वारा शपथ ग्रहण

एजेन्सी । भारतको १५औँ राष्ट्रपतिमा चुनिएकी द्रौपदी मुर्मूले सर्वोच्च संवैधानिक पदको शपथ ग्रहण गरेकी छन् । द्रौपदी मुर्मूलाई सर्वोच्च अदालतका प्रधान न्यायाधीशले शपथ खुवाएका हुन् । मुर्मू आदिवासी समुदायबाट राष्ट्रपति बन्ने पहिलो महिला बनेकी छन् ।

सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार मुर्मूले विपक्षी दलका यसवन्त सिन्हालाई पराजित गर्दै विजयी भएकी हुन् ।

सन् १९५८ को जुन २० तारिखमा ओडिशाको मयुरभञ्ज जिल्लाको उपरबेडा गाउँमा जन्मिएकी उनी झारखण्डको अल्पसङ्ख्यक सन्थाल जनजातिबाट प्रतिनिधित्व गर्छिन् ।

उनले सन् २०१५ देखि सन् २०२१ सम्म झारखण्ड राज्यको नवौँ राज्यप्रमुखको रूपमा काम गरेकी छिन् । पारिवारिक जीवनमा निकै सङ्कट भोगेकी मुर्मूले ४ वर्षको अवधिमा श्रीमान् र २ जना छोरा गुमाएकी थिइन् ।