एमसिसी पारित गर्ने प्रक्रियामा हामीलाई बञ्चित गरियो : एमाले (वक्तव्यको पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले)ले संसद्को सबैभन्दा ठूलो र प्रमुख प्रतिपक्षी दललाई एमसिसी सम्झौता पास गर्ने प्रक्रियाबाट वञ्चित गरिएको टिप्पणी गरेको छ।

पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको वक्तव्य वाचन गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनले एमसिसी पास गर्ने प्रक्रियामा एमालेलाई बाहिर राखिएको बताए।

‘राष्ट्रिय हितको वास्ता नगरी आफ्नै छुद्र निजी स्वार्थ पूरा गर्न खोज्ने उनीहरूका बोली र व्यवहारमा रहेको अवसरवादी छेपारेपनले सत्ता सञ्चालक पार्टी र तिनका नेताहरूको अविश्वसनीयता समेत उदाङ्गो भएको छ। प्रतिनिधिसभाको दुवै बैठकमा हामीलाई एमसीसी पारित गर्ने प्रक्रियामा वञ्चित गरियो। देशको प्रमुख प्रतिपक्षलाई यस प्रक्रियाबाट बाहिर राख्ने सत्ताधारी दलको षड्यन्त्रपूर्ण व्यवहार पनि स्पष्ट भएको छ। संसद्को सबैभन्दा ठूलो दल एमालेलाई वेलमा राखेर संसद्‌मा  अवरोधका बिच यस्तो संवेदनशील विषयमा निर्णय गरिएको छ।’

उनले भने, ‘केही समयअघि नयाँ नक्सालाई अनुसूचीमा समेट्न संविधान संशोधन गर्दा संसदलाई एक गरेर राष्ट्रिय एकता प्रदर्शन गरिएको घटनालाई हामी स्मरण गरिरहेका छौं।’

सभामुखको बलमिच्याइँ र व्यवहारले उनी पदमा बस्न लायक नभएको पनि एमालेको जिकिर छ।