९ हजार ७ सय १० जनाकाे नमुना परीक्षण गर्दा १ सय ११ जनामा काेराेना पुष्टि

काठमाण्डाै । पछिल्लो २४ घण्टामा नेपालमा एक सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी नौ हजार सात सय १० जनाको नमुना परीक्षण गर्दा एक दशमलव १४ प्रतिशत अर्थात् एक सय ११ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा चार सय १५ जना निको भएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५६ हजार चार सय १३ जना पुगेको छ ।

यही अवधिमा एक जना सङ्क्रमितकाे ज्यान गएकाे छ । याेसहित नेपालमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म ११ हजार नौ सय ३५ जनाकाे ज्यान गएकाे छ ।

नेपालमा अहिले आठ हजार पाँच सय १७ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ४१ हजार तीन सय ६९ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएकाे छ ।