नेपाल टी–२० विश्वकपमा पुग्न सकेन

काठमाडौं । नेपालको टी–२० विश्वकपमा छनोट हुन असफल भएको छ । ८ वर्षपछि पुनः विश्वकपमा पुग्ने निर्णायक खेलमा नेपाल युएईसँग ६८ रनले पराजित भएको छ ।

ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा मंगलबार युएईविरुद्ध नेपालले बलिङ र ब्याटिङ दुवैमा अपेक्षाकृत प्रदर्शन गर्न सकेन । युएईविरुद्ध १७६ रनको लक्ष्य पछ्याएको नेपालले १८.४ ओभरमा सबै विकेट गुमाएर १०७ रनमात्र बनाउन सक्यो ।

ग्लोबल क्वालिफायरमा आफ्नो समूहको सबै खेल जितेर सेमिफाइनलमा पुगेको नेपाल युएईविरुद्ध निरीह बन्दा विश्वकप छनोटको नजिक पुगेर पुनः विश्वकप खेल्नबाट वञ्चित भएको हो । नेपालले पहिलोपल्ट सन् २०१४ मा टी–२० विश्वकप खेलेको थियो ।

नेपाललाई हराउँदै युएई सन् २०२२ को अक्टोबर–नोभेम्बरमा अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा छनोट भएको छ ।