कृषि उत्पादनमा बजारिकरणको व्यवस्थापन सरकारले गर्नुपर्छ

सुर्खेत । कृषि उत्पादनमा बजारिकरणको व्यवस्था सरकारले गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । आइतबार आयोजित कृषिमा नितिगत बहस कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै खाध्यअधिकार सञ्जाल सुर्खेतका अध्यक्ष जगत केसीले बास्तविक किसानले अवसर पाउने वातावरण सृजना गर्नुपर्ने बताए । ‘कृषकले उत्पादन गरेको चिज कुहिएर जान्छ ।’ उनले भने “बजारिकरणको व्यवस्थापन सरकारले गर्नुपर्छ ।” सरकारले भुमी खण्डीकरण नियन्त्रण, सिंचाईको प्रबन्ध गर्नुपर्ने उनले सुनाए ।

कार्यक्रममा बोल्दै हुम्लाका कृषक सागर शाहीले उत्पादन गरेको बस्तुले बजार नपाउने गुनासो गरे । उनले कृषकहरु सहजै बिक्रि हुने बस्तुउत्पादन तर्फ आकर्षीत भएको समेत सुनाए ।

‘उत्पादन गरेको बस्तु बिक्रि नै हुँदैन ।’ उनले भने “ बिक्रि नै नहुने भएपछि उत्पादनमा कृषकहरु नलागेका हुन् ।”

सरकारले कृषकले उत्पादन गरेका बस्तुहरु बजारिकरणका लागि सहजीकरण गर्नुपर्ने उनको तर्क रहेको थियो ।

राष्ट्रिय कृषक महासंघ कर्णाली प्रदेशका अध्यक्ष सन्तबहादुर केसीले सरकारले निर्माण गरेका निती कृषकका लागि उपयोगी नभएको तर्क गरे । उनले अर्गानिक प्रदेशको आधार तयार गर्दा कृषकहरुको तत्कालको समस्या समाधान गर्नतर्फ सरकार नलागेकोे आरोप लगाए ।

खाध्यका लागि कृषि अभियान कर्णाली प्रदेशले आयोजना गरेको कृषीमा नितिगत बहस कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा सहभागी अधिकाँशले कर्णालीका कृषकलाई उत्पादन भन्दा बजारिकरणको समस्या भएको बताएका हुन् ।