एमसीसी अनुमोदन गर्ने र नगर्ने निर्णय नेपालकैः अमेरिका

काठमाण्डौ । अमेरिकाले एमसीसीसँगको अनुदान सम्झौता अनुमोदनका विषयमा नेपालले नै निर्णय गर्ने बताएको छ ।

एमसीसी सहयोगलाई लिएर अमेरिकाले नेपाललाई कुटनीतिक दबाब दिएको चीनको भनाइ आएको भोलिपल्ट नेपालका लागि अमेरिकी दूतावासले नेपाल सार्वभौम लोकतान्त्रिक देश रहेकाले एमसीसीबारे नेपालले नै निर्णय गर्ने जनाएको छ ।

शुक्रवार चीनले एमसीसीलाई लिएर अमेरिकाले कुटनीतिक दबाब दिएको भन्दै आफूहरुले त्यसको विरोध गर्ने बताएको थियो । अमेरिकी दूतावासले निकालेको विज्ञप्तिमा ‘नेपाली नेताहरूले एमसीसीको अनुमोदन गर्छन् या गर्दैनन् भन्ने निर्णय एउटा सार्वभौम लोकतान्त्रिक देशका रूपमा नेपालले गर्ने हो र यो केवल नेपालको निर्णय हो’ भनिएको छ । विज्ञप्तिमा नेपाल र अमेरिकाबीचको सम्बन्ध ७५औँ वर्षमा रहेको र यसबीचमा नेपालमा ठूलाठूला परिवर्तनहरू भएको उल्लेख छ ।

नेपाललाई विकास सहायता, विपद् प्रतिकार्य तथा पूर्वतयारी सहयोग, शिक्षा र स्वास्थ्य कार्यक्रमका साथै थप माध्यमबाट मद्दत गरेको पनि अमेरिकाले बताएको छ । एमसीसीको ५० करोड डलर अनुदान अमेरिकी नागरिकतर्फबाट उपहार एवम् दुई देशबीच साझेदारीका रूपमा रहेको जनाएको छ ।

एमसीसीको अनुदानले नेपालमा रोजगारी र पूर्वाधार ल्याउने र त्यसले नेपालीको जीवनमा सुधार गर्ने विज्ञप्तिमा उल्लेख छ ।