वीरेन्द्रनगरलाई बाल मैन्त्री नगर बनाउँछुः मेयर ढकाल

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकालले नगरलाई बाल मैन्त्री नगर बनाउने प्रतिवद्धता गरेकी छन् । ५८ औँ राष्ट्रिय बाल दिवसको अवसरमा वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा बोल्दै ढकालले बालबालिका माथि शोषण, हिंसा, यातना दिएको पाइएमा त्यस विरुद्ध तुरुन्त कारवाही गर्ने बताइन् ।

आवाज संस्था सुर्खेतका निर्देशक पवित्रा शाहीले बालबालिका भविष्यका कर्णधार भएको भन्दै राज्यले बालबालिकाको क्षेत्रमा काम गर्न आवश्यक भएको बताइन् । कर्णाली प्रदेशमा बालविवाहमा बृद्धि भएको भन्दै आवाज संस्थाले कर्णाली प्रदेशको १० वटै जिल्लामा बालविवाह विरुद्ध अभियान समेत चलाएको उनको भनाई छ ।

यस्तै नगरपालिकाका प्रशासकिय अधिकृत नरहरिनाथ तिवरीले नगरमा भएको बाल श्रम कम गर्न २० लाख बजेट विनियोजन गरिएको बताए । उनले वीरेन्द्रनगर नगरपालिकाकालाई सडक बालबालिकाहिन नगर बनाउने प्रतिवाद्धता समेत गरेका छन् ।

५८ औँ राष्ट्रिय बाल दिवस, बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने नाराका साथ वीरेन्द्रनगरमा सम्पन्न गरिएको छ । नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रूपमा मनाउने गरेको छ । कार्यक्रम वीरेन्द्रनगर नगरपालिका नगरकार्यपालिकाको कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक समाज शाखाको आयोजनामा नेपाल बाल संगठन सुर्खेत, गैर सहकारी संस्था महासंघ नेपाल सुर्खेत, नेपाल पत्रकार महासंघ सुर्खेत, आसमान नेपाल, स्याक नेपाल, आवाज संस्था, नवज्योति केन्द्र र अपाङ्ग सशक्तिकरण केन्द्र सुर्खेतको समन्वयमा सम्पन्न गरिएको थियो । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका कृष्ण बाल क्लब र नवज्योति बाल संजालका बालबालिकाहरूको सहभागिता रहेको थियो ।

कानगरपालिकाले लामो समयदेखि बालबालिकाको क्षेत्रमा ठूलो योगदान पु¥याएको भन्दै आवाज सस्था, स्याक नेपाल सुर्खेत र नवज्योति केन्द्र सुर्खेतलाई प्रशंसा पत्र प्रदान गरिएको छ । यस्तै नवौं राष्ट्रिय करातेमा स्वर्ण पदक विजेता प्रिन्स लामा गुरुङ्गलाई समेत सम्मान गरिएको छ ।