एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले रुसले युरोपमा दोस्रो विश्वयुद्धपछिको ठूलो युद्धको योजना गरिरहेको बताएका छन् ।

रुसले युक्रेनको राजधानी किभलाई घेरेर आक्रमण गर्ने अन्तिम तयारी गरेको प्रमाणहरु गुप्तचर निकायले प्राप्त गरेका प्रधानमन्त्री जोनसनको भनाइ छ । युक्रेनको सीमा क्षेत्रमा रुसले झण्डै एक लाख ९० हजार सेना तैनाथ गरेको पश्चिमा देशहरुले दाबी गरेका छन् ।
यस्तै युक्रेनबाट टुक्रिएको पूर्वी क्षेत्रमा ठूलो सङ्ख्यामा विद्रोही सेनाहरु रहेका छन् । रुसले तीनै विद्रोही सेनालाई भड्काएर युक्रेनमा आक्रमण गर्ने र आफू प्रवेश गर्ने योजना बनाएको अमेरिकाले बताएको छ । विद्रोही सेनाले गराएको विस्फोटमा हिजो एक जना युक्रेनी सैनिकको ज्यान गएको छ ।
यसैबीच युक्रेनका राष्ट्रपति भोलोडिमियर जेलेन्सकीले रुसी समर्थित क्षेत्रमा देखिएको घातक युद्धको सङ्केतमा उत्तेजनात्मक जवाफ नदिने बताउनुभएको छ । यसबेला दिइने सामान्य जवाफले पनि युद्ध निम्त्याउन सक्ने उनको भनाइ छ ।
राष्ट्रपति जेलेन्सकीले विश्व नेताहरुलाई सम्बोधन गर्दै युक्रेनले रुसी आक्रमणबाट आफूलाई बचाउने बताउनु भएको बीबीसीले जनाएको छ ।

फरकबाटो ८ फाल्गुन २०७८, आईतवार ११:१०