प्रदेश अस्पतालमा बिहान ७ बजेदेखी नै विशेषज्ञ सेवा


सुर्खेत । कर्णाली प्रदेश अस्पतालले  बिहान ७ बजेदेखी नै विशेषज्ञ सेवा दिन सुरु गरेको छ । बिरामीहरुलाई सहज र सरल रुपमा सेवा दिने उदेश्यले आज (सोमबार) देखि कार्यालय समय बाहेक बिहान ७ बजेदेखि  सेवा दिन सुरु गरेको हो ।

शनिवार बाहेक हप्ताको ६ दिन बिहान ७ बजे देखि ९ बजे सम्म सेवा दिइने अस्पताल प्रशासनले जानकारी दिएको छ ।बिहानको समयमा विशेषज्ञ सेवा लिन आउने बिरामीहरुले भने सेवा शुल्क तिर्नुपर्नेछ । विशेषज्ञ सेवा शुल्क बापत प्रत्येक बिरामीले ओपिडी कार्ड सहित ४ सय रुपैयाँ तिर्नुपर्ने अस्पतालका निर्देशक डा.डम्वर खड्काले जानकारी दिए ।

उनका अनुसार अस्पतालले दिने सेवाहरुमा बालरोग, मेडिसिन, सर्जरी, स्त्री तथा प्रसुति रोग, हाडजोर्नी तथा नशारोग, नाक कान घाटी , छाला, सौन्दर्य तथा यौन रोग, मानसिक रोग लगायतका रोगहरु रहेका छन् ।

पछिल्लो समय प्रदेश अस्पतालप्रतिको जनविश्वास बढ्दो भएकोले बिरामीहरुलाई ध्यानमा राखी बिहानदेखी सेवा दिन सुरु गरिएको डा. खड्काले बताए । ‘टाढा–टाढाबाट उपचारको लागि बिरामीहरु प्रदेश अस्पताल आउँछन् ‘, उनले भने ‘ अस्पतालले आफ्नो अफिसियल समयमा दिने सेवाले मात्रै धान्न नसकिने भएकोले बिहानको समयमा सेवा सुरु गरिएको हो ।’ संस्थाप्रतिको विश्वासलाई अझ मजबुत बनाउनको लागि समेत अतिरिक्त सेवा सुरु गरिएको खड्काले बताए ।

महंगो शुल्क तिरेर बिरामीहरुले अस्पतालबाट बाहिर जानु नपरोस् भन्ने हेतुले अस्पतालले अतिरिक्त सेवा संचालन गरेको .डा.खड्काले सुनाए । क्याबिनमा बसेर तत्काल सर्जरी अप्रेशन सेवा लिन चाहेमा ५० प्रतिशत अतिरिक्त शुल्क तिरी सेवा लिन सकिने अस्पतालले जानकारी दिएको छ ।

कर्णाली प्रदेश अस्पतालमा पछिल्लो समय जटिल खालका अप्रेशन लगाएतका सेवा थप गरिएकोले जनविश्वास झनै बढेको हो । करारमै भएपनि जनशक्तिको समेत व्यवस्थापन गरी सेवालाई निरन्तरता दिँदा अस्पतालप्रति जनविश्वास बढेको हो ।