एमयू र तुङ्कु अब्दुल रहमान यूनिभर्सिटी कलेज मलेसिया बीच शैक्षिक सहकार्यका लागि सम्झौता

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयू) नेपाल र तुङ्कु अब्दुल रहमान यूनिभर्सिटी कलेज मलेसिया बीच शैक्षिक सहकार्यका लागि सम्झौता भएको छ । बुधवार अनलाईन समारोह गरी शैक्षिक सहकार्यका लागि दुइ पक्षीय सम्झौता सम्पन्न भएको हो । मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह र तुङ्कु अब्दुल रहमान यूनिभर्सिटी कलेजका तर्फबाट समकक्षी अध्यक्ष प्रा. डा. ली जी वेइद्वारा सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।


समारोहमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले सम्झौता पश्चात दुवै शैक्षिक संस्थाको शैक्षिक विकास हुनुका साथै दुई विश्वविद्यालयहरू बीच आपसी समझदारीलाई बढावा दिने विश्वास व्यक्त गरेका थिए । शैक्षिक संस्थाहरुले बौद्धिक क्रान्ति मार्फत अहिलेको विश्व समुदायको हितमा हुने कार्यमा लाग्नु पर्ने उनको भनाई छ । तुङ्कु अब्दुल रहमान यूनिभर्सिटी कलेजका अध्यक्ष प्रा. डा. ली जी वेइले विद्यार्थी, प्राध्यापक तथा कर्मचारी आदानप्रदान हुने र उक्त कार्यमा आफ्नो पूर्ण साथ समर्थन रहने कुरा व्यक्त गरेका थिए ।

दुबै विश्वविद्यालयहरूले समानता र पारस्परिकताको आधारमा पारस्परिक हितका लागि विभिन्न सहयोगी गतिविधिहरू संचालन गर्न उक्त सम्झौता पत्र मार्फत सहमत भएका छन् । विद्यार्थीहरुका लागि विभिन्न सहयोगी सिकाइका गतिविधिहरू संचालन गर्ने, विद्यार्थी र प्राध्यापक तथा कर्मचारी आदानप्रदान गर्ने, संयुक्त सम्मेलन, सेमिनार तथा गोष्ठीहरु संचालन गर्ने, संयुक्त अनुसन्धान, प्रकाशन, परामर्श गर्ने, विशिष्ट प्रयोगशाला उपकरण, शिक्षण सामग्री र विशेषज्ञतामा पहुँच पुर्‍याउने र छोटो शैक्षिक भ्रमणहरू गर्ने गराउने सम्झौताको उदेश्य रहेको छ । सम्झौता अवधि ५ वर्षको रहेको छ भने दुबै विश्वविद्यालयहरूको आपसी समझदारीमा थप अवधि बढाउन सकिने कुरा सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. नारायण प्रसाद पौडेलले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन उपकुलपति कार्यालयका सूचना प्रविधि विज्ञ उप प्रा. पन्चदेव भट्टले गरेका थिए । उक्त कार्यक्रममा तुङ्कु अब्दुल रहमान यूनिभर्सिटी कलेजबाट उपाध्यक्ष सह प्रा. से सोक क्वान लगायत निर्देशक, वरिष्ठ प्रबन्धक, सहायक रजिष्ट्रार लगायतको उपस्थिति रहेको थियो ।