च्यासलविरुद्ध अपराजित पुलिस

काठमाडौं । सहिद स्मारक लिग ए डिभिजन ०७८ मा बुधबार एक खेल रहेको छ र त्यसमा पुलिसले च्यासलको सामना गर्नेछ । च्यासलले नेपाली घरेलु फुटबलको माथिल्लो डिभिजनमा खेल्न थालेको यो तेस्रो सिजन मात्र हो ।

त्यस अर्थमा यी दुई टिमबीच अहिलेसम्म लिगमा दुई खेल मात्र भएका छन् र त्यसमा पुलिस अपराजित छ । वर्ष ०७५ को पहिलो खेलमा पुलिसले च्यासललाई २–० ले हराएको थियो र त्यसमा रवि पासवान तथा भरत शाहले गोल गरेका थिए ।

वर्ष ०७६ मा यी दुई टिमबीचको खेल २–२ को बराबरीमा टुंगेको थियो । त्यसमा भने च्यासलका लागि दुवै गोल सन्तोष साहुखलले गरे । पुलिसिका तर्फबाट गोल गर्ने खेलाडी थिए, नवीन लामा र आशिष लामा ।

अहिले तत्काल भने पुलिस आठ खेलबाट सात अंक जोडेर ११ औं स्थानमा छ भने च्यासलको समान आठ खेलबाट पाँच अंक छ र पुछारबाट दोस्रो स्थानमा छ ।