एक वर्षमा १६ लाख बढी नयाँ मतदाता थपिएको अनुमान

काठमाडौं । निर्वाचन आयोगले एक वर्षमा करिब १६ लाखभन्दा बढी नयाँ मतदाता थपिएको अनुमान गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले २०७७ पुस ६ देखि २०७८ माघ २४ गतेसम्म करिब १६ लाखभन्दा बढी नयाँ मतदाता थपिएको अनुमान गरेको बताए ।

आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तय भएसँगै निर्वाचन आयोगले मतदाता नामावली सङ्कलनको काम मङ्गलबारबाट स्थगित गरेको छ ।

निर्वाचन आचारसंहिताअनुसार देशभर मतदाता नामावली सङ्कलन हुने कार्यालयलाई मङ्गलबारदेखि मतदाता नामावली सङ्कलन कार्य रोक्न र हालसम्मको विवरण पठाउन ७७ वटै जिल्लालाई निर्देशन दिएको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए ।

२०७७ पुस ५ गतेसम्म एक करोड ६२ लाख ४३ हजार ११० जना मतदाता रहेको आयोगले जनाएको छ।