मापदण्ड विपरीतका निजी स्वास्थ्य संस्था बन्द गराउन डा. गोविन्द केसीको माग

काठमाडौं । डा. गोविन्द केसीले देशभर खुलेका मापदण्डविनाका निजी स्वास्थ्य संस्था बन्द गराउन सरकारलाई आग्रह गरेका छन् ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई सात बुँदे पत्र लेख्दै उनले देशभर पूर्वाधार र पर्याप्त जनशक्ति विना नै निजी स्वास्थ्य संस्था खुल्ने क्रम बढेको, यसबाट बिरामी ठगिने, रोग बल्झिने र बिरामीको मृत्यु हुनेसम्मको अवस्था रहेको बताएका छन् ।

देशभर नै गाउँदेखि शहरसम्म कुनै पूर्वाधार र जनशक्तिको व्यवस्थाविना निजी स्वास्थ्य संस्थाहरु सञ्चालनमा आएकाले बन्द गर्न माग गरेका हुन् ।

यसरी स्वास्थ्य संस्था संचालन गर्दा गैरकानुनी मात्र नभई बिरामीहरु ठगिने, रोग बल्झिने, अंगभंग हुने र मृत्युसमेत हुने अवस्था रहेकाले देशका सबै तहका स्वास्थ्य संस्थाहरुको चुस्त अनुगमन गरी मापदण्डविपरीतका स्वास्थ्य संस्थाहरुलाई बन्द गराई दोषीलाई कारबाही गर्नुपर्ने उनको माग छ ।