
सुर्खेत । विश्व कृष्ठरोग दिवस आज नेपालमा पनि मनाइँदै छ । ६९औँ विश्व कुष्ठरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो । कुष्ठरोगविरूद्ध जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतवार यो दिवस मनाउने गरिन्छ ।
नेपालमा १२ वर्षअघि नै कुष्ठरोग निवारण भएको घोषणा भए पनि नयाँ बिरामी देखिने गरेका छन् । सरकारी तथ्याङ्कअनुसार नेपालमा हरेक वर्ष तीन हजारभन्दा बढी नयाँ बिरामी थपिने गरेका छन् । समयमै कुष्ठरोगको उपचार हुन नसके अपाङ्गता हुने र ज्यानसमेत गुमाउन सक्ने जोखिम हुन्छ । त्यसैले बेलैमा उपचार गर्न र रोग नलुकाउन सरकारले आग्रह गर्दै आएको छ ।
कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोब्याक्टेरियम लेप्रे नामको सूक्ष्म किटाणुबाट लाग्नगर्छ । यो रोगले खास गरेर छाला, नसामा असर गर्छ ।
कुष्ठरोगको बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई श्वास–प्रश्वासको माध्यमबाट यो रोग सर्न सक्ने विज्ञहरुको भनाइ छ । लक्षण देखा परेमा तुरुन्त स्वास्थ्य कार्यकर्तालाई देखाइ बेलैमा नियमित उपचार गराएमा र नियमित औषधि सेवन गरेमा कुष्ठरोग पूर्णरूपले निको हुने स्वास्थ्यकर्मीको सुझाव छ ।

फरकबाटो १६ माघ २०७८, आईतवार ०८:२४