संकटालाई पहिलो खेलको डर

काठमाडौं । संकटाले आहा रारा गोल्डकप २०७८ को आफ्नो पहिलो खेलमा सोमबार मछिन्द्रको सामना गर्दैछ । यो प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन संकटाले सहिद स्मारक लिग ए डिभिजनको च्याम्पियन मछिन्द्रको सामना गर्ने खेलका रूपमा रहेको छ । फेरि मछिन्द्र अहिले चलिरहेको लिगको शीर्ष स्थानमा छ र उसले उपाधिको रक्षा गर्ने सम्भावना बढ्दो छ ।

त्यस अर्थमा भने पनि यो खेलमा मछिन्द्र आत्मविश्वासी हुन सक्छ । संकटा आफैलाई पनि पोखरामा पहिलो खेलको डर पक्कै रहनेछ, किनभने यो प्रतियोगितामा त्यस्तो इतिहास रहेको छ, जसमा डिफेन्डिङ च्याम्पियनलाई पहिलो खेलमा जहिल्यै गाह्रो हुन्छ । त्यति मात्र कतिपय अवसरमा हार कै सामना गर्नु परेको छ ।

जस्तो पोहरकै कुरा, मनाङ मर्स्याङ्दीले विजेताकै हैसियतले संकटाविरुद्ध खेलेको थियो र पराजित रह्यो । वर्ष ०७५ मा पनि पुलिस डिफेन्डिङ च्याम्पियन भएर खेलेको थियो, तर डफिन्स एफसीविरुद्ध हार बेहोर्न बाध्य रह्यो ।

यसको सबैभन्दा राम्रो उदाहरण त आयोजक सहारकै छ । उसले वर्ष ०७० मा उपाधि त जित्यो, तर लगतै अर्को वर्ष पहिलो खेलमै नवजागृतिविरुद्ध पराजित रह्यो ।

यो प्रवृत्तिको शिकार थ्री स्टार पनि भएको छ, त्यो पनि दुई पल्ट । वर्ष ०६३ मा थ्री स्टार च्याम्पियन बन्यो, त्यसको अर्को वर्ष पहिलो खेलमै पुलिसविरुद्ध पराजित रह्यो ।