भारत शीर्ष स्थानमा रहदै सेमिफाइनलमा

काठमाण्डाै । आईसीसी टी–२० विश्व कप क्रिकेटमा भारतले जिम्बावेलाई हराएकाे छ । आज आइतवार मेलबर्नमा भएकाे खेलमा भारतले जिम्बावेलाई ७१ रनले हरायाे ।

भारतले दिएकाे एक सय ८७ रनकाे लक्ष्य पछ्याएकाे जिम्बावेले १७ ओभर २ बलमा अलआउट हुँदै एक सय १५ रनमात्रै बनायाे । यसका लागि रायल बर्लले ३५ र सिकन्दर राजाले ३४ रन बनाए । बलिङतर्फ भारतका रविचन्द्रन अश्विनले तीन तथा माेहम्मद शामी र हार्दिक पान्डेयाले दुई/दुई विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेकाे भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ८६ रन बनायाे । उसका लागि सूर्यकुमार यादवले नटआउट ६१ र केएल राहुलले ५१ रन बनाए । बलिङतर्फ जिम्बावेका सेन विलियम्सले दुई विकेट लिए ।

याे जितसँगै भारत समूह ‘२’ काे विजेता बनेकाे छ । अब भारतले सेमिफाइनलमा इङ्ग्ल्यान्डसँग खेल्नेछ । यही समूहबाट उपविजेता बनेकाे पाकिस्तानले न्युजिल्यान्डसँग सेमिफाइनल खेल्नेछ ।