आयोगले भनेर पार्टीको मूल सिद्धान्त नै संशोधन गरेर जान सकिँदैन : राप्रपा


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निर्वाचन आयोगले पठाएको पत्र नेपालको संविधानको मर्म र भावना विपरीत भएको भन्दै कानुनी र राजनीतिक उपचार खोज्ने निष्कर्ष निकालेको छ ।

आज आइतवार पार्टी केन्द्रीय कार्यालय चावहिलमा बसेको केन्द्रीय पदाधिकारीको बैठकले यो निष्कर्ष निकालेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन आयोगले भन्दैमा राष्ट्रिय प्रजातन्त्र पार्टीको मूल सिद्धान्त नै संशोधन गरेर नजाने बताए ।

उनले आफ्नो पार्टीको विधान संविधानको परिधिभित्र नै रहेकाले आयोगको निर्देशन पूर्वाग्रही देखिएको भन्दै उचित समयमा त्यसको जवाफ दिने बताए ।

अध्यक्ष लिङ्देनले साम्प्रदायिक र धार्मिक सद्भाव बिथोलिने गरी कुनै पनि चिह्न प्रयोग गर्न पाइँदैन भनेको भनिए पनि कुनै पनि दललाई आस्थाको आधारले प्रतिबन्ध लगाउन पाउने र यस किसिमका प्रश्न उठाउन पाउने अधिकार निर्वाचन आयोगलाई नभएको तर्क गरे ।