सुदुरपश्चिमको पहिलो जित

काठमाडौं । पीएम कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत सुदुरपश्चिम प्रदेशले पहिलो जित दर्ता गरेको छ । समूह ‘ए’ अन्तर्गत टियु क्रिकेट मैदानमा कर्णाली प्रदेशलाई ४७ रनले पराजित गर्दै सुदुरपश्चिमले जित निकालेको हो । यस अघि सुदुरपश्चिमले नेपाल पुलिस क्लबसँग दुई रनको पराजय भोगेको थियो ।

यता कर्णालीको भने तीन खेलमा यो दोस्रो पराजय हो । यस अघि कर्णालीले त्रिभुवन आर्मी क्लबसँग ६३ रनको पराजय भोग्दा प्रदेश नं. १ लाई ३१ रनले हराएको थियो । बिहीबारको खेलमा सुदुरपश्चिमले दिएको १ सय ५४ रनको चुनौती पछ्याउने क्रममा कर्णाली १९ दशमलब १ ओभरमा अलआउट हुदै मात्र १ सय ६ रन जोड्न सक्यो ।

कर्णालीका कप्तान रविन्द्र शाहीले सर्वाधिक ३५ रनको योगदान गरे । रविन्द्रले ४३ बल खेल्दा चार चौका हिर्काए ।अर्जुन घर्तीले २४ बलमा तीन चौका र एक छक्काको मदतमा ३० रन जोडे । कर्णालीको इनिङ्स धराशायी बनाउन सुदुरपश्चिमका शेर मल्लले सर्वाधिक ४ विकेट हात पारे ।

हेमन्त धामीले दुई विकेट हात पारे । आदित्य महता, गजेन्द्र बोहरा र विकास अग्रीले एक–एक विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ५३ रन जोड्यो ।

सुदुरपश्चिमका लागि अर्जुन साउदले सर्वाधिक ३२ रनको योगदान गरे । अर्जुनले २३ बल खेल्दै चार चौका र एक छक्का हिर्काएका थिए ।वसन्त कार्कीले १७ बलमा २८ रन बनाउदा तीन छक्का प्रहार गरे ।  दिपक बोहराले २५ तथा खडक बोहराले २२ रनको योगदान गरे ।

कर्णालीका प्रकाश जैसीले सर्वाधिक ३ विकेट हात पारे । रविन्द्र शाही र दिवान पुनले दुई–दुई विकेट लिए । दिनेश अधिकारीले एक विकेट हात पारे ।  यसैबीच मुलपानी क्रिकेट मैदानमा हुने भनिएको त्रिभुवन आर्मी क्लब र प्रदेश नं. १ बीचको खेल मैदान भिजेका कारण हुन सकेन ।