आहा रारा गोल्डकप फुटबलको २०औँ संस्करण माघ ६ गतेदेखि

काठमाण्डौ । आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको २०औँ संस्करण आउँदो माघ ६ गतेदेखि १५ गतेसम्म पोखरा रङ्गशालामा हुने भएको छ । ‘खेलकुद विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा स्थापित गरौँ’ भन्ने उद्देश्यका साथ सहारा क्लब पोखराद्वारा आयोजित प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लब, आयोजक सहारा र एक विदेशीसहित १० टोलीको सहभागिता रहने छ ।

प्रतियोगितामा नेपालका ‘ए डिभिजन क्लब’ सङ्कटा फुटबल क्लब, मच्छिन्द्र क्लब, मनाङ मर्स्याङ्दी क्लब, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब, रुस्लान थ्रिस्टार क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, बीवाईएससी मिनेसोटा अमेरिका र सहारा क्लब पोखराको सहभागिता रहने क्लबका अध्यक्ष हरिराम गुरुङले जानकारी दिए ।

यस प्रतियोगितालाई पहिलो संस्करणदेखि नै मुख्य प्रायोजकका रुपमा बहुचर्चित मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको छ ।

प्रतियोगितामा कुल अनुमानित आम्दानी एक करोड ३६ लाख एक हजार र अनुमानित खर्च एक करोड छ लाख ४८ हजार ५०० रुपैयाँ रहेको क्लबले जनाएको छ । क्याराभान गोल्ड कपसहित यो प्रतियोगिता २१ वर्षदेखि निरन्तर सञ्चालित छ । प्रतियोगिताबाट बचत रकम क्लबद्वारा सञ्चालित ‘सूर्यबहादुर केसी’ स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिँदै आएको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।