सुर्खेत । शुक्रबार जिल्ला समन्वय समिति सुर्खेतको हल उस्तै उमेर समुहका युवाहरुले खचाखच भरिएको थियो । भित्रको हल मात्रै होइन समितिको खुल्ला चौर समेत सवारी साधनहरुले भरिएको थियो । अटो, बस तथा किया लगाएतका सवारी साधनहरुले खुल्लाचौर खचाखच नै थियो ।
हलमा सहभागीको रुपमा उपस्थित भएका सवारी चालक र सहजीकरणको भुमीकामा रहेका ट्राफिक प्रहरीहरुको दोहोरो संवादको हल्ला हलबाहिरै सुनिन्थ्यो ।
यो जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले आयोजना गरेको चालकहरुलाई एकदिने रोड ट्राफिक दुर्घटना सम्बन्धि अभिमुखिकरण कार्यक्रमको दृश्य थियो । जुन कार्यक्रमको समन्वय जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले गरेको थियो ।
चालकहरुका लागि आयोजना गरिएको रोड ट्राफिक दुर्घटना सम्बन्धि अभिमुखिकरण कार्यक्रममा बोल्ने वक्ताहरुले चालककै कारण अधिकांश दुर्घटना हुन्छ भनिरहदा चालकहरु भने खासखुस गरेको सुनिन्थ्यो । उनीहरुले सडक दुर्घटना हुनुमा आँफुहरु मात्रै दोषी नभएको बताउदै थिए ।
चालकहरुको त्यो गुनासोलाई थाम्दै प्रशिक्षणको भुमीकामा रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले चालकहरुलाई भन्दै थिए, “तपाईहरु काल होइन, भगवान् हो ।” यात्रुहरुलाई सुरक्षित गन्तव्यमा पु¥याउने व्यक्ति सामान्य होइन ! जब प्रहरी निरीक्षक आचार्यले त्यो शब्द भने हल एकैछिनमा सान्त भयो ।
सवारी साधन दुर्घटनामा हामी मात्रै दोषी होइनौ भन्दै संवाद गरेका चालकहरु यो शब्द सुन्दा स्तब्द नै भए ।
यति मात्रै होइन प्रहरी निरीक्षक आचार्यले सवारी दुर्घटना कसरी हुन्छ, ट्राफिक संकेतहरुको प्रयोग, दुर्घटना भएपछि कानुनी उपचार लगाएतका विषयमा चालकहरुलाई प्रशिक्षण दिए ।
उक्त प्रशिक्षणमा ९६ वटा ट्राफिक संकेत लगाएतका सचेतनामुलक पावरप्वइन्टका स्लाइड र तिनवटा ट्राफिक सचेतनामुलक भिडियोहरु समेत देखाइएको थियो । दुईघण्टा लामो प्रशिक्षणमा चालकहरुको सक्रिय सहभागीता रहेको थियो ।
त्यस्तै कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भएका प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालले आँफुले सवारी चालकहरुलाई समेत अभिमुखिकरण गर्नुपर्छ भनेर वकालत गर्दै आएको बताए । उनले सुर्खेतमा ट्राफिक व्यवस्थापनका लागि २६ बुँदे कार्यायोजना बनाएर अगाडि बढेको सुनाए ।
‘नेपालमा चालकहरुलाई यात्रुले पनि हेप्छन् ’ उनले भने “ तर चालकले यात्रु र यात्रुले चालकको सम्मान गर्नुपर्छ ।” पेशालाई मर्यादित गराएर लैजान सके धेरै नागरिकहरुको ज्यान बचाउन सकिने उनले तर्क गरे ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय कर्णाली प्रदेशका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले समेत सवारी साधनको अवस्था ठिक छ भन्ने कुराको ग्यारेण्टि गरेर मात्रै सवारी चलाउनुपर्ने बताए । चालक तथा सह–चालकहरुले नम्र व्यवहार, भाडादर निर्धारणको कुरालाई ख्याल गर्नुपर्ने सुनाए ।
‘चालक निन्द्रा ऋणमा हुनुहुनुदैन’ उनले भने “कम्तीमा आठघण्टा सुत्नुपर्छ र आठघण्टा भन्दा बढि सवारी चलाउनुहुदैन ।” यात्रुको ज्यान बचाउने र गन्तव्यमा पुराउने पेशा भएकोले चालकहरुको पेशा समेत सम्मानजनक भएको उनले बताए ।
सडक दुर्घटना न्युनिकरणमा सञ्चारकर्मीहरुको समेत उत्तिकै भुमीका हुने भन्दै प्रहरी उपरीक्षक तिवारीले राम्रा अध्यासहरुलाई बाहिर ल्याउने र नराम्रा कामहरुमा समेत झकझक्याउनु आवश्यक भएको बताए । सवारी दुर्घटना न्युनिकरणमा लभ ३० को अवधारणालाई पालना गर्न समेत चालकहरुलाई आग्रह गरे । जोखिम क्षेत्रमा प्रतिघण्टा ३० किलोमिटर सवारीको गती नै लभ ३० को अवधारणा भएको उनले बताए । लभ ३० को अवधारणाले करिब ९० प्रतिशत दुर्घटना न्युनिकरण हुने उनले बताए ।
जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका सुचना अधिकारी गणेशभक्त गौतमले सवारी दुर्घटना प्रत्यक्ष रुपमा स्वास्थ्यसंग जोडिएको कुरा भएकोले कार्यक्रमको आयोजना गरिएको बताए । ६० भन्दा बढि सवारी चालकहरु उपस्थित भएको कार्यक्रमको सभाअध्यक्षता जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेले गरेका थिए ।
फरकबाटो २३ पुष २०७८, शुक्रबार १८:०९