काजकस्तानमा इन्धनको मूल्यवृद्धिविरुद्ध प्रदर्शन : सुरक्षाकर्मीसहित दर्जनौँको मृत्यु

काठमाडौं । काजकस्तानमा इन्धनको मूल्यवृद्धिविरुद्ध भएको प्रदर्शनमा दर्जनौँ मानिसको ज्यान गएको छ । त्यहाँको प्रमुख सहर अल्माटीमा ‘सुव्यवस्था कायम राख्न’ सरकारविरोधी दर्जनौँ ‘विद्रोहीहरूलाई मारिएको’ सुरक्षा बलले जनाएको छ । आन्दोलनकारीले पुलिस स्टेसन नियन्त्रणको प्रयास गरेपछि प्रतिवाद गरिएको प्रहरी प्रवक्ताले बताए । दर्जनौँ आक्रमणकारीलाई धपाइएको र उनीहरूले हुलदंगा मच्चाएर हतियारहरू पनि चोरेको प्रहरीले जनाएको छ ।

प्रदर्शनमा करिब एक हजारजना घाइते भएका छन् । ४०० जनालाई उपचारका लागि अस्पताल लगिएको र ६२ जनालाई सघन उपचारकक्षमा राखिएको बताइएको छ । हिंसात्मक आन्दोलनमा १२ जना सुरक्षाकर्मी पनि मारिएका छन् भने ३५३ जना घाइते भएका छन् । यसैबीच, काजकस्तानका राष्ट्रपतिको आग्रहमा रुसले फौज पठाएको छ । रुसी फौजलाई स्थिरता कायम राख्न परिचालन गरिने जनाइएको छ ।

काजकस्तान रुस, बेलारुस, ताजिकिस्तान, कीर्गिस्तान र अर्मेनियासँगै कलेक्टिभ सेक्युरिटी ट्रिटी अर्गनाइजेसन ९सीएसटो०को सदस्य हो । सीएसटोले काजकस्तानमा शान्ति कायम गर्न रुसी फौज परिचालन भएको पुष्टि गरेको छ ।

सीएसटोका अध्यक्ष अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले काजकस्तानमा फौज पठाउन स्वीकृति दिइएको बताएका छन् । अवस्थालाई सामान्य र स्थिर बनाउने उद्देश्यले सीमित समयका लागि फौज पठाइने उनले फेसबुकमार्फत जारी गरेको विज्ञप्तिमा जनाइएको छ । त्यहाँ पठाइने सुरक्षाकर्मीको संख्या भने यकिन गरिएको छैन ।

सरकारले एलपीजीको मूल्य नियन्त्रणसम्बन्धी प्रावधान हटाएपछि आन्दोलन भएको हो । तर, यो मात्रै कारण नभएको बताइएको छ । त्यसमा राजनीतिक कमजोरीहरू पनि जोडिएको बताइएको छ । आन्दोलन चर्किएपछि राष्ट्रपति कासिम–जोमार्ट टोकायभले देशव्यापी रूपमा संकटकालको घोषणा गरका छन् । उनले मन्त्रिपरिषद् भंग पनि गरेका थिए ।