भारतको १५औँ राष्ट्रपतिमा द्रौपदी मुर्मू

सन्थाल समुदायकी द्रौपदी मुर्मू भारतको १५औँ राष्ट्रपतिमा निर्वाचित भएकी छन्।  पूर्व केन्द्रीय मन्त्री यशवन्त सिन्हालाई हराउँदै उनी राष्ट्रपतिमा निर्वाचित भएसँगै भारतमा नयाँ इतिहास समेत रचिएको छ।

राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) को साझा उम्मेदवारको रुपमा भारतीय जनता पार्टीकी मुर्मू निर्वाचित भएसँगै उनी भारतको ७२ वर्षे राष्ट्रपति इतिहासमा पहिलो आदिवासी राष्ट्रपति बन्ने सौभाग्य पाएकी छन्।  उनी प्रतिभा पाटिलपछि दोश्रो महिला राष्ट्रपति समेत हुन्। झारखण्डकी पुर्व गर्भनर द्रौपदीभन्दा अघि भारतमा आदिवासी समुदायबाट कोहि पनि राष्ट्रपति बन्न सकेका थिएनन्।

आदिवासी समुदायबाट सन २०१२ मा मेघालयका पुर्व मुख्यमन्त्री पुर्नो आगितोकसंगमा राष्ट्रपतिको निर्वाचनमा होमिएका थिए। भारतीय जनता पार्टीको समर्थनमा राष्ट्रपतिको निर्वाचनमा आफ्नै पूर्वदल कांग्रेस आईका प्रणव मुखर्जीसँग पराजित भएका थिए।

राष्ट्रपति इतिहासमा ७२ वर्षपछि भारतले आदिवासी समुदायबाट राष्ट्रपति पाएको छ। द्रौपदीको विजयसँगै ओडिशाबाट देशको राष्ट्रपति हुने दोस्रो व्यक्ति बन्न सफल भइन्। द्रौपदी मुर्मूभन्दा पहिले ओडिशाका वीवी गिरी देशको राष्ट्रपति भइसकेका छन्। त्यति मात्र हैन मुर्मू भारतीय राष्ट्रपति इतिहासमा सबैभन्दा कम उमेर राष्ट्रपति समेत निर्वाचित भएकी छन्।

मुर्मू ६४ वर्ष १ महिनाको उमेरमा राष्ट्रपति बनेकी हुन्। उनीभन्दा अघि कम उमेरमा सन् १९७७ मा भारतको छैटौँ राष्ट्रपतिको रुपमा सन्जिव निलम रेड्डी ६४ वर्ष २ महिनाको उमेरमा नै निर्वाचित भएका थिए।