एमाले सुर्खेत जिल्ला अधिवेशन : ९५ वटा वडामा प्रतिनिधि छनोट सकियो

सुर्खेत । एमाले जिल्ला अधिवेशनका लागि सुर्खेतका ९५ वटा वडामा प्रतिनिधि छनोट गरिएको छ ।

एमाले सुर्खेतका सचिवालय सदस्य तथा  प्रचार–प्रसार संयोजक गंगाराम तिमिल्सेनाका अनुसार शनिबार सुर्खेतका ९९ वटा वडा मध्ये ९५ वडामा प्रतिनिधि छनोट सम्पन्न भएको हो ।

यि वडामा सर्वसम्मत प्रतिनिधि छनोट गरिएको र बाँकी चार वटा वडामा भोलि गरिने उनले जानकारी दिए । समय अभावका कारण वीरेन्द्रनगर नगरपालिका वडा नं ३ र ६, गुर्भाकोट नगरपालिका वाड नं १ र भेरीगङ्गा नगरपालिकाको वाड नं ८ मा भोलि प्रतिनिधि छनोट गरिने उनको भनाई छ ।  नौ वटै स्थानीय तहमा शनिबार प्रतिनिधि छनोट सुरु भएको थियो ।

‘एकताबद्ध पार्टी, सुदृढ संगठन, सुखी नेपाली र समृद्ध नेपाल निर्माणको महाअभियान’ भन्ने नारासहित एमाले सुर्खेतको आठौं जिल्ला अधिवेशन यही पुस २३ र २४ गते वीरेन्द्रनगरमा हुँदैछ । यसपटक जिल्ला नेतृत्व पनि सर्वसम्मत रूपमा चयन गर्नेगरी तयारी भइरहेको नेताहरूले बताएका छन् ।