माओवादी महाधिवेशन : प्रचण्डले आज जवाफ दिएपछि नेतृत्व छनोटको प्रक्रिया सुरु हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन अन्तरगत अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज जवाफ दिएपछि नेतृत्व छनोटको प्रक्रिया सुरु हुने भएको छ ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार आजसम्म महाधिवेशनको सबै कार्यक्रम सक्ने भनिए पनि समूहगत छलफलको निष्कर्ष सुनाउन दुई दिनको समय लागेको तथा नेतृत्व चयन प्रक्रिया अझै बाँकी रहेकाले महाविधेशनको कार्यसूची लम्बिन पुगेको हो ।

अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि समूहगत निष्कर्ष सुनाउने तथा सुझाव दिने क्रम हिजो सकिएको छ । २५ वटा समूहले उठाएका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले आज दिने माओवादी केन्द्रले जनाएको छ । प्रचण्डले जवाफ दिइसकेपछि प्रतिवेदन पारित गरेर नेतृत्व छनोटको प्रक्रिया सुरु हुने माओवादी केन्द्रले जनाएको छ ।

माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन यही पुस ११ देखि प्रज्ञा प्रतिष्ठान कमलादीमा चलिरहेको छ ।