बहुमतको सरकार निर्माणमा जुट्न आह्वान

काठमाडौं । नेपाली काँग्रेसका नवनिर्वाचित सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनसम्ममा पार्टीलाई एकताबद्ध बनाई स्थानीय तहदेखि केन्द्र तहसम्म बहुमतको सरकार निर्माणमा जुट्न कार्यकर्तालाई आह्वान गरेका छन् ।

सभापतिमा निर्वाचित भएपछि ‘बधाई तथा शुभकामना’ दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका महाधिवेशन प्रतिनिधि तथा कार्यकर्तासँगको कुराकानीमा प्रधानमन्त्रीले काँग्रेसलाई एकढिक्का र बलियो बनाउन प्रत्येक कार्यकर्ताको योगदान महत्त्वपूर्ण हुने बताए ।

प्रधानमन्त्री देउवाले बधाई तथा शुभकामना दिन आउने महाधिवेशन प्रतिनिधि तथा कार्यकर्ताको जिज्ञासा धैर्यसाथ सुन्नका साथै काँग्रेस पार्टीलाई वडा, पालिका, क्षेत्र र प्रदेश तहदेखि केन्द्रसम्म बलियो बनाउन सबैले त्याग र सङ्घर्ष गर्नुपर्ने सल्लाह दिए ।

काठमाडौँमा यही २४ गतेदेखि २७ गतेसम्म आयोजित १४औँ महाधिवेशनबाट पार्टीको दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित हुनुभएका प्रधानमन्त्री देउवाले आफ्नो विजयमा अबिर जात्रा, विजय –याली र नाराबाजी गर्नसमेत रोक लगाउन निर्देशन दिएका छन् ।