सुर्खेत । आइतबार वीरेन्द्रनगर नगरपालिका वडा नं १० की रुनी चौधरीको घरमा नेकपा एमालेका सुर्खेत क्षेत्र नं २ (क) प्रदेश सभा सदस्य पदका उम्मेदवार यमलाल कँडेल र सुर्खेत क्षेत्र नं २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अमृत विसी भोट माग्न गइपुगे । उनीहरुलाई स्वागत गर्ने तयारीसहित बसेकी रुनीले उम्मेदवारहरु देख्ने वित्तिकै भनिन् “हामीहरुलाई तपाईहरुकै भर छ । बृद्ध भत्ता, एकल महिला भत्ताको सुरुवात गर्नेे पार्टीलाई भोट नदिएर अरु कसलाई भोट दिनु ?
आफ्नो पार्टीलाई भोटदिएर जिताउन आग्रह गर्दै घरदैलो कार्यक्रममा पुगेका नेताहरुलाई उनले ढाडस मात्रै होइन सुझाव समेत दिन भ्याइन् । रुनीले कर्णाली प्रदेश सरकारको नेतृत्व गरेर प्रदेशको मुहार फेर्नका लागि उनले उम्मेदवारहरुलाई सुझाव दिइन् ।
जितेपछि फर्केर नआउने परीपाटी त्यागेर नागरिकहरुको दुख सुखमा साथ दिनेहरुलाई नै आगामी मंसीर ४ गतेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा भोट हाल्ने उनले प्रतिवद्धता व्यक्त गरेकी छन् ।
उनी मात्रै होइन , वीरेन्द्रनगर नगरपालिका इमान्युअल टोलका जिवन अधिकारीले समेत देशको सिमा रक्षा, नागरिकको सुखदुखमा साथ दिने पार्टीलाई नै आँफुले चुन्ने बताए । ‘दुखमा तपाईहरुकै भर छ, उनले भने“ यो पटक जित हात पारेर नागरिकहरुको गुमेको अधिकार फिर्ता ल्याउनुपर्छ ।”
विभिन्न समयमा देश खतरामा पर्दा नागरिकको हितका लागि बोल्ने पार्टी नेकपा एमाले नै भएकोले आगामी निर्वाचनमा एमालेलाई नै भोट दिन उनले अन्य मतदाताहरुलाई पनि आग्रह गरे ।
आज बिहान वीरेन्द्रनगर १० को बसपार्कदेखी घरदैलो कार्यक्रम सुरु गरिएको थियो । घरदैलो कार्यक्रममा सुर्खेत क्षेत्र नं २ (क) प्रदेश सभा सदस्य पदका उम्मेदवार यमलाल कँडेल र सुर्खेत क्षेत्र नं २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अमृत विसी, प्रतिनिधि सभा समानुपातिक उम्मेदवार गेहेन्द्रप्रसाद दाहाल लगाएतको सहभागिता रहेको थियो ।
फरकबाटो २० कार्तिक २०७९, आईतवार १४:५१