कांग्रेस महाधिवेशन : उपसभापतिको मतगणना सुरु

काठमाडौं । नेपाली काँग्रेसका उपसभापतिको मतगणना सुरु भएको छ । १४औँ महाधिवेशन अन्तर्गत सोमबार भएको मतदानको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो ।

निर्वाचन समिति सदस्य एवम् अधिवक्ता केशव रिजालका अनुसार साढे ४ बजे सुरु हुने भनिएको मतगणना केही ढिला गरेर भर्खरै सुरु भएको हो ।

पार्टी सभापतिका लागि दोस्रो चरणमा भएको मतदानबाट शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् ।

काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापतिमा विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, सुजाता कोइराला, धनराज गुरुङ, चन्द्र भण्डारी, महेश आचार्य र दिव्येश्वरी शाहले उम्मेदवारी दिएका छन् । पार्टी विधान अनुसार दुई जना उपसभापति महाधिवेशनबाट निर्वाचित हुनुहुनेछ ।