चिया बेचेको कमाइले स्याउ बगैँचाको मालिक

जुम्ला । ज्येष्ठ नागरिक हुँदा धेरैजसो घरपरिवार तथा छोराछोरीको भरमा पर्छन् । तर, जुम्लाको एक ज्येष्ठ नागरिक दम्पती वर्षौंदेखि चिया पसलबाट आफ्नो जीवन निर्वाह गरिरहेका छन् ।

चन्दननाथ नगरपालिका–२ निवासी ६७ वर्षीय काशीराम भण्डारी र उहाँकी ६५ वर्षीया श्रीमती देवीकन्या भण्डारीले चिया बेचेर आफ्नो जीवन निर्वाह गरिरहनुभएको छ ।

जुम्लाको तापक्रम माइनस डिग्रीमा होस् वा गर्मीमा भण्डारी चिया पसलमा चिया खानेको भीड नै हुन्छन् । चन्दननाथ मन्दिरको पछाडि मन्दिरको टहरा भाडामा लिएर वर्षौदेखि  चिया बेचेर आफू र आफ्नो घरपरिवार पाल्न सक्षम हुनुभएको छ ।

झिसमिसेमा ग्राहक आइहाल्छन् । मीठो चिया खुवाउने जिम्मेवारी बढेको ज्येष्ठ नागरिक काशीराम भण्डारीले बताए । उनले दैनिक ६० लिटर बढी दूधको चिया बिक्री गर्ने गरेको जानकारी दिए ।

दैनिक सरदर पाँच सय कप चिया बिक्री हुने गरेको उनले बताए । चिया बेचेको कमाइले एउटा स्याउ बगैँचा स्थापना गरेको उनको भनाई छ । स्याउबाट बर्सेनि एकदेखि डेढ लाख रुपियाँ आम्दानी गरेको भण्डारीले बताए ।

आम्दानी भएको रकमले ज्येष्ठ नागरिक दम्पतीले उल्टै घरपरिवारलाई सहयोग गरेका छन् । देवीकन्याले पाखुरा हँुदासम्म काम गर्दा आफैँलाई सम्मान मिलेको अनुभव सुनाइन् । गोरखापत्र