वीरेन्द्रनगर बजारक्षेत्र फराकिलो हुने भएपछि व्यवसायी र नागरिक उत्साहित

सम्बन्धित निकायलाई काम छिटो सक्न आग्रह

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको बजार क्षेत्र फराकिलो हुने भएपछि व्यवसायी र नागरिक उत्साहित भएका छन् । वीरेन्द्रनगर नगरपालिकाले अवैध रुपमा रहेका मुख्य बजार क्षेत्रका संरचनालाई बुधबारबाट हटाउन थालेको हो ।

मुख्यबजार साँघुरो भएको र बजारको सुन्दरता हराएको भन्दै नगरपालिकाले संरचना हटाउन ७ दिने सुचना जारी गरेको थियो ।
गत भदौ २१ गते जिल्लास्थित पुर्वाधार निर्माणसंग सम्बन्धित सरोकारवालासंग बसेको सर्वपक्षिय बैठकले बजार क्षेत्रको दुवैक्षेत्रका विद्युतका पोल तथा तार, अन्य निजि क्षेत्रका भौतिक संरचना हटाउन सुचना निकालेको थियो ।

नगरपालिकाले दिएको समयावधी सकिएपछि मुख्य बजार क्षेत्रमा रहेका विद्युतका पोल, नेपाल टेलिकम तथा इन्टरनेट प्रदायक संस्थाका तारहरु तथा सडक किनारामा पर्ने रुख तथा भौतिक संरचना बुधबारदेखी हटाउन थालिएको हो ।

१ हजार ७ सय मिटर सडक विस्तार गर्नुपर्ने भएकाले सडकका दुवै किनारामा रहेका अवैध संरचना हटाउन यसअघि नै जारी सूचनाअनुसार बुधबारदेखि काम थालिएको प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले जानकारी दिएका छन् ।

‘गत वर्ष नै सडक विस्तारका लागि ठेक्का आह्वान गरिएको थियो । अवैध संरचनाका कारण निर्माण कामको काम सुरु गर्न नसकिएको प्रमुख तिवारीले सुनाए ।

नगरपालिकाले अवैध संरचनासहित सडक क्षेत्राधिकार भित्र पर्ने नक्सापास अनुमति नलिई निर्माण भएका स्थायी र अस्थायी भौतिक संरचना पनि हटाउने तयारी गरेको छ ।

१५ मिटर चौडाईमा सडक पिच गर्ने गरी करिब साढे १३ करोडको योजनाको टेण्डर गत वर्षनै निकालिएको थियो । तर बजार क्षेत्रका संरचना नहटेको कारण काम सुरु गरिएको थिएन ।

नगरपालिकाले सडक चौडा गर्नका लागि पहिलो चरणमा रुख तथा पोल हटाउने कार्य थालेपछि अब सडक फराकिलो हुने भन्दै स्थानीय नागरिक तथा व्यवसायी उत्साहित बनेका हुन् ।

बजार क्षेत्रमा यात्रा गर्दै गरेकी कालिकोटकी कमला रजालीले कर्णालीको राजधानी वीरेन्द्रनगर बजार क्षेत्रलाई व्यबस्थित गर्न सुरु गर्दा खुशी लागेको बताइन् । बजार क्षेत्रमा चौडा बाटो भयो भने पैदलयात्राीलाई पनि सहज हुने उनले सुनाईन् ।

व्यवसायी निर्मला रिजालले समेत विकास गर्ने क्रममा संरचना हटाउँदा राम्रै हुने बताईन् । तर डोजर लगाएर यसै छोड्नुभन्दा काम छिटो गर्नुपर्ने उनले धारणा राखिन् । बजार क्षेत्र एकदमै साँघुरो हुँदा व्यवसायी मात्रै नभई पैदलयात्रीलाई समेत अप्ठ्यारो भएको उनले बताईन् ।

सुर्खेत उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष सिंहराज बमले अवैध संरचना हटाउनु गतल नभएपनि समय हेरेर काम गर्न अनुरोध गरे । व्यापार हुने समयमा बजारक्षेत्र लथालिङ्ग बनाउनु भन्दा छिटो काम सुरु गर्न सम्बन्धित निकायलाई उनले आग्रह समेत गरे ।

‘बाटो साघुँरो छ, अव्यवस्थित छ आफैमा समस्या छ ’ उनले भने “ व्यवस्थित गर्न खोज्नु राम्रो हो । लोकप्रियताका लागी काम नगरौँ । जसरी भत्काएको छ त्यसरीनै छोटो समयमा काम पुरा गर्नुपर्छ । ”

यस्तै वजार क्षेत्रमा यात्रा गर्दै गरेका भवेन्द्र महतराले समेत वीरेन्द्रनगर बजार क्षेत्रलाई फराकिलो बनाउन सुरुगरेकोमा खुशी व्यक्त गरे । उनले कर्णाली प्रदेशको राजधानी भन्न लायक बनाउनलाई बजार क्षेत्रको बाटो व्यवस्थित बनाउन जरुरी रहेको उनले सुनाए ।