
सुर्खेत । सरकारले भाषा परीक्षा पास गरि रोजगारीका लागि दक्षिण कोरिया जान रोस्टरमा रहेकाहरूको म्याद थप्न कूटनीतिक पहल गर्ने निर्णय गरेको छ ।
रोस्टरमा रहेका झन्डै १२ हजार नेपाली श्रमिकको अवसर गुम्ने खतरा बढेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोस्टरको म्याद थप्न कोरिया सरकारसँग कूटनीतिक पहल गर्ने निर्णय गरेको हो ।
मन्त्रालयका अनुसार सन् २०२४ मा कृषि, पानीजहाज र कोरियाबाट फर्केर पुनः छानिएका ९सीबीटी० गरि झन्डै १२ हजार श्रमिकको रोस्टर म्याद फेब्रुअरी अन्त्यसम्म सकिँदै छ । म्याद नथपिए उनीहरूको नाम कोरिया जाने सूचीबाट हट्नेछ ।
नेपाल–कोरिया श्रम सम्झौताअनुसार भाषा परीक्षा, सीप परीक्षण र मेडिकलमा उत्तीर्ण भएकालाई दुई वर्षका लागि रोस्टरमा राख्ने व्यवस्था छ ।
यस्तै सरकारले रोस्टरमा रहेका व्यक्तिको विवरण रोजगारदातासमक्ष पठाउने प्रक्रियामा पारदर्शिता र निष्पक्षता कायम गर्न पीताम्बर घिमिरेको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ ।
कोरियाले सन् २०२६ का लागि नेपालसहित स्रोत देशबाट ८० हजार विदेशी श्रमिक लैजाने योजना बनाएको छ, यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा ३८ दशमलव ४६ प्रतिशतले कम हो ।

फरकबाटो २४ पुष २०८२, बिहीबार १७:४४