
सुर्खेत । वैदेशिक रोजगारीको नाममा हुने ठगिबाट नागरिकलाई सचेतिकरणका माध्यमबाट जोगाउनका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेत र मातहतका प्रहरी ईकाइहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । वीरेन्द्रनगर नगरपालिका रोजगार सेवा केन्द्र सुर्खेतले आयोजना गरेको सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सहभागीहरुले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
प्रत्यक्ष रुपमा वैदेशिक रोजगारीको मुद्धा प्रहरीको क्षेत्राधिकार नभएपनि सचेतनाका माध्यमबाट नागरिकसम्म पुग्न सकिने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरिक्षक दिपक मगरातीले बताए । उनले दैनिक रुपमा नागरिकसँग प्रत्यक्ष जोडिएर काम गर्ने प्रहरीले नागरिक सचेतनाका माध्यमबाट सुरक्षित वैदेशिक रोजगार सम्बन्धी विषयमा सहयोग गर्ने बताएका हुन् ।
कार्यक्रममा सहभागीहरुले भने वैदेशिक रोजगारको विषय तल्लो तहका नागरिकसँग जोडिएकोले वैदेशिक रोजगारको विषय प्रत्यक्ष रुपमा प्रहरीले हेर्न सके नागरिकले छिटो न्याय पाउन सक्ने बताएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथिको रुपमा रहेका सुर्खेत जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी डिल बहादुर कार्कीले हाल वैदेशिक रोजगार सम्बन्धी ऐन, २०६४ संशोधन भई ठगीका मुद्धाहरु मेलमिलापका माध्यमबाट जिल्ला प्रशासनले हेर्न सक्ने भएकोले पनि नागरिकलाई वैदेशिक रोजगार विभाग जान नपर्ने बताए । उनले जुनसुकै ठगीका मुद्धापनि जिल्ला प्रशासनमार्फत विभागमा पठाउन सकिने भएकोले नागरिकहरुले ढुक्कले सेवा लिन आग्रह गरे । उनले सकेसम्म वैदेशिक रोजगारमा जानुपुर्व धेरै सुचना लिएर र वैधानिक तरिकाले जान समेत आग्रह गरे ।
कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष टिकाराम शर्माले पछिल्लो समय वैदेशिक रोजगारका नाममा धेरै ठगी हुने गरेकोले नागरिकहरुलाई सचेत हुन आग्रह गरे । वैदेशिक रोजगारीमा जानुभन्दा पहिले हरेक जिल्लाको जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्रमा गएर सहि सुचना लिएर मात्रै जानुपर्नेमा जोड दिए ।
सामी कार्यक्रम कर्णाली प्रदेश व्यवस्थापक कमल रोकायले सामी कार्यक्रम तिनै तहका सरकारको समन्वयमा कार्यान्वयन भएको र वैदेशिक रोजगारको विषय मात्रै नभई कानुनी परामर्श, सिपसँग सम्बन्धित जानकारी, वित्तिय साक्षरता तथा मनोसामाजिक परामर्श समेत सामी कार्यक्रम अन्तर्रगत कार्यान्वय हुने गरेको बताए ।
वीरेन्द्रनगर नगरपालिकाले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा २०८१ फाल्गुन ४ गते विधिवत रुपमा उद्घाटन गरि आप्रवासी स्रोत केन्द्र सहायता कक्ष सञ्चालन गरेको छ । प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद बास्कोटाका अनुसार हालसम्म आप्रवासी स्रोत केन्द्र सहायता कक्षबाट पाँच हजार भन्दा बढीले सुचना परामर्श लिएको, नौ वटा ठगी, हराएको तथा मृत्युको केश सहजीकरण भएको र पचास भन्दा बढी युवाहरुलाई सिपसँग सम्बन्धित जानकारी दिई आवश्यक सहजीकरण गरिएकोे जानकारी दिए ।
नेपाल सरकारको सामी कार्यक्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्रगत हरेक स्थानीय तहले कार्यान्वयन गर्दै आएका छन् । प्रत्येक जिल्ला प्रशासन कार्यालयमा रहने आप्रवासी स्रोत केन्द्र सहायता कक्षबाट राहदानी बनाउने नागरिक तथा अन्य नागरिकले सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सुचना र परामर्श, कानूनी सहायता तथा सिपसँग सम्बन्धित जानकारी प्राप्त गर्न सक्छन् ।

फरकबाटो २२ मंसिर २०८२, सोमबार १८:२८