सुर्खेत । वीरेन्द्रनगर नगरपालिका सुर्खेतले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४ अर्ब ३८ करोड २७ लाख १५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
आज मंगलबार सम्पन्न नगरपालिकाको १७ औँ नगरसभामा नगर उपप्रमुख निलकण्ठ खनालले उक्त बजेट प्रस्तुत गरेका हुन् । यो बजेट चालु आर्थिक वर्षको भन्दा ७९ करोड ९ लाख १५ हजार रुपैयाँले बढी हो ।
नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ का लागि ३ अर्ब ५९ करोड १८ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।
कुल बजेटमध्ये चालूतर्फ १ अर्ब ५९ करोड ४२ लाख ३० हजार र पूँजीगततर्फ २ अर्ब ७८ करोड ८४ लाख ८५ हजार विनियोजन गरिएको हो ।
‘बजेटले ‘शैक्षिक, प्रशासनिक र पर्यटकीय शहर, स्वच्छ, स्वस्थ, समुन्नत वीरेन्द्रनगर’ को सोचलाई साकार पार्ने लक्ष्य लिएको नगर प्रमुख मोहनमाया ढकालले बताइन् । उनका अनुसार आगामी वर्ष खानेपानी, सहरी पुर्वाधार र सौन्दर्य, सडक, फुटपाथ व्यवस्थापन, कर्मचारी सामाजिक सुरक्षा कोषमा आवद्धता, सुरक्षित वैदेशिक रोजगार, नगरबस सञ्चालन, पर्यटन लगायतका क्षेत्रमा बजेट विनियोजन गरिएको हो ।
सामाजिक क्षेत्रको विकासलाई समेत उच्च प्राथमिकतामा राख्दै नगरबासीहरुको समस्या समाधानका साथै नगर गौरवका आयोजनाहरुमा समेत आगामी वर्षको बजेट कार्यक्रम केन्द्रित भएको ढकालको भनाई छ ।
फरकबाटो १० असार २०८२, मंगलवार २०:५७