सुर्खेत । प्रतिनिधिसभाको अवरोध अन्त्य गरी बैठक सञ्चालन गर्न सत्तारूढ नेकपा एमाले र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) बीच दुई बुँदे सहमति भएको छ । एमालेका मुख्य सचेतक महेशकुमार बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेबीच आज सहमति भएको हो ।
प्रतिपक्ष दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा, संसदीय समिति वा न्यायिक आयोग बनाउनुपर्ने माग राख्दै संसद् अवरुद्ध गर्दै आएका छन् । जेठ १३ गतेपछि बजेट प्रस्तुत गर्ने दिन जेठ १५ बाहेक लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ ।
भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित विषयका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेकोले यस विषयलाई आयोगले निष्कर्षमा पुर्याउने र यस विषयका सम्बन्धमा छानबिनका लागि आयोगले माग गरे बमोजिम सरकारले आवश्यक सहयोग गर्ने पहिलो बुँदामा उल्लेख छ ।
साथै अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न सरकाले आवश्यक अध्ययन एवम् छानबिन गरी नीतिगत, कानूनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न पहल गर्ने सहमति भएको छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले भने आफूहरूको ५ बुँदे माग यथागत् रहेको र संसद् अवरोध गर्ने बताएका छन् ।
फरकबाटो ३० जेष्ठ २०८२, शुक्रबार १८:०३