नमस्ते गुराँस गुनासो व्यवस्थापन प्रणालीको सिको अन्य स्थानीय तहले समेत गर्नुपर्दछ


सुर्खेत । नमस्ते गुराँस गुनासो व्यवस्थापन प्रणालीको सिको अन्य स्थानीय तहहरुले समेत सिक्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । आइतबार कर्णाली प्रदेशमा सीमान्तकृत र जोखिममा रहेका समुहमा भ्रष्ट्राचारको प्रभाव र सार्वजनिक जवाफदेहिता सम्बन्धी नीति संवाद कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मध्यपश्चिम विश्वविद्यालय कानुन संकायका विद्यार्थी गणेश डांगीले गुराँस गाउँपालिका दैलेखले नमस्ते गुराँस गुनासो व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएकोमा धन्यबाद दिँदै अन्य स्थानीय तहहरुले समेत गुराँसबाट सिक्नुपर्ने बताए ।

नागरिक त्यसमा पनि सिमान्तकृत समुदायहरुको आवाज बोल्ने कुराहरुमा भएका सकारात्मक कुराहरुलाई सम्मान गर्दै जानुपर्ने उनले बताए ।

यस्तै कार्यक्रममा मन्तव्य राख्दै महिला सशक्तिकरण मञ्च दैलेखका अध्यक्ष सुनिता चन्दले गुराँस गाउँपालिकाले गुनासो व्यवस्थापनका लागि गरेको पहल सकारात्मक भएको भन्दै सिमान्तकृत समुदायहरुलाई जानकारी र पहुँच बृद्धिका लागि क्षमता अभिबृद्धिका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताइन् ।

गुराँस गाउँपालिका दैलेखले कर्णालीका ७९ वटै स्थानीय तहहरुमध्ये सबैभन्दा पहिले नमस्ते गुराँस गुनासो व्यवस्थापन प्रणाली सञ्चालन गरेकोमा धन्यबाद दिँदै अन्य स्थानीय तहहरुले समेत यस्तो सकारात्मक क्रियाकलापहरुको सिको गर्नुपर्ने बताउँदै यसले नागरिकमैत्री सेवा दिनमा सहयोग गर्ने उनले बताइन् ।

आफ्नो धारणा राख्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग कर्णाली प्रदेशका प्रमुख रामकृष्ण पुडासैनीले नमस्ते गुराँस गुनासो व्यवस्थापन प्रणाली राम्रो भएको र यसलाई दिगो रुपमा सञ्चालन गर्नका लागि सुझाव दिए । नागरिकका गुनासा सुन्ने एउटा गतिलो माध्यम भएको र कुनै संघसंस्थाको सहयोग बिना पनि यसलाई निरन्तरता दिनुपर्ने साथै अन्य स्थानीय तहले समेत यस्ता राम्रा क्रियाकलापको सिको गरेर जानुपर्ने धारणा राखे ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव चुडामणी पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा सहभागी अधिकाँशले नागरिकका कुरा वा गुनासा सुन्ने माध्यमहरु विकास गर्नुपर्ने र गुनासामा जवाफ दिएर मात्र नहुने र नागरिकको माग पुरा हुनुपर्ने धारणा राखेका थिए ।

सेवामा ढिलासुस्ती हिंसाको कारण भएको अधिकारकर्मी नारायण वि.कले .बताए । हरेक सार्वजनिक कार्यालयमा सेवाग्राहीहरुलाई ढिला सेवा दिएका कारण घरमा गएर श्रीमान्को हिंसा सहनुपर्ने आम महिलाहरुको समस्या भएको बताए ।

उनले समयमै सेवा दिन सकेको सिमान्तकृत समुदायहरुलाई सहज हुने उनले बताए । सार्वजनिक सेवा प्रदायक निकायहरुले नागरिकहरुलाई समयमै सेवा दिनुपर्ने र त्यसमा पनि सिमान्तकृत समुदायलाई सेवामा प्राथमिकता दिनुपर्ने उनले बताए । उनले नमस्ते गुराँस गुनासो व्यवस्थापन प्रणाली नागरिकलाई सेवा चुस्त दुरुस्त दिनका लागि सञ्चालन गरिएकोमा धन्यबाद समेत दिए ।

यस्तै कार्यक्रममा आफ्नो धारणा राख्दै गुराँस गाउँपालिका दैलेखका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले गुराँस गाउँपालिकाले सञ्चालन गरेको नमस्ते गुराँस गुनासो व्यवस्थापन प्रणालीको दिगो व्यवस्थापनका लागि सोचिएको र विशेष गरी गुराँसका नागरिक राउटे समुदायका लागि प्रदेश सरकारले समेत सोच्नुपर्ने बताए ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव, आन्तरिक मामीला तथा कानून मन्त्रालयका सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानून सचिव शंकर बहादुर के.सी लगायतले धारणा राखेका थिए ।

कार्यक्रमको समापन गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव चुडामणी पौडेलले नागरिक सम्म सेवा प्रवाह हुन नसके भ्रष्ट्राचार हुने बताए । तिनै तहको सरकारले हेर्नुपर्ने सेवाप्रवाह नै भएको र आएका गुनासाहरु सरकारी तहबाट सम्बोधन नै ठुलो कुरा भएको उनले बताए ।

कार्यक्रममा संस्थागत सुधारमार्फत न्यायमा पहुँच अभिबृद्धि परियोजना- २ ले समन्वय गरेको थियो ।