सुर्खेत । चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा विकास खर्च झन्डै १० प्रतिशत मात्रै भएको छ । चालू आर्थिक वर्षका लागि सरकारले कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । कात्तिक मसान्तसम्ममा २२ दशमलव ३१ प्रतिशत अर्थात् चार खर्ब १५ अर्ब दुई करोड रुपैयाँ खर्च भएको छ ।
चालूगत शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख बजेट विनियोजन भएकोमा कात्तिक मसान्तसम्ममा दुई खर्ब ९२ अर्ब ५२ करोड ६७ लाख रुपैयाँ बराबर खर्च भएको छ । पुँजीगत शीर्षकका तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख बराबर विनियोजन भएकामा नौ दशमलव आठ प्रतिशत अर्थात् ३४ अर्ब ५३ करोड १० लाख रुपैयाँ बराबर खर्च भएको छ ।
वित्तीय व्यवस्था शीर्षकमा चालू आर्थिक वर्षका लागि तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख बराबर विनियोजन भएकामा पहिलो चौमासिकमा ८९ अर्ब ९६ करोड २४ लाख रुपैयाँ बराबर खर्च भएको छ । कात्तिक मसान्तसम्मको राजस्व सङ्कलन वार्षिक लक्ष्यको २२ दशमलव ३६ प्रतिशत बराबर छ ।
चालू आर्थिक वर्षका लागि सरकारले कुल १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकामा अहिलेसम्म तीन खर्ब २३ अर्ब २४ करोड रुपैयाँ रहेको छ ।
फरकबाटो १ मंसिर २०८१, आईतवार ११:३८