संघीयताको वर्तमान स्वरुप परिवर्तन गरेर स्थानीय सरकारलाई बलियो बनाउँ : अध्यक्ष थापा

सर्खेत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीयताको वर्तमान स्वरुप परिवर्तन गरेर स्थानीय सरकारलाई बलियो बनाउनुपर्ने बताएका छन् । शुक्रबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले वर्तमान अवस्थाको संघीयताको मोडल सहि नभएको तर्क गर्दै उनले स्वरुप परिर्तन गर्नुपर्ने बताए । उनले भने, ‘संघीयताको वर्तमान स्वरुपमा परिवर्तन गरेर स्थानीय सरकारलाई बलियो बनाई दुई तहको संघीयता कायम राखिनुपर्छ ।’ उनले प्रदेश संरचनाको कुनै औचित्य नभएको दाबी गरे ।

थापाले राजसंस्था पुनःस्र्थापना हुन नसक्ने भएकाले जनभावनाको सम्मान गर्दै लोकतन्त्रको बाटोमा हिडेको बताए । असम्भव एजेण्डा बोकेर जनतालाई धोका दिने, कार्यकर्तालाई अन्धकारमा लिने र स्वंयम राजालाई पनि धोकामा राख्नुहुँदैन भन्ने सोचाईका साथ लोकतन्त्रको बाटोमा हिडेका हौं,’उनले भने,‘ अहिले हामीले राजसंस्थाको एजेण्डालाई कार्यनीति नबनाएको र हिन्दु राष्ट्रको पुनःस्र्थापना, सुशासन र समृद्धि हाम्रो मुख्य प्राथमिकता रहने छ ।’