कार्यालय परिसरमा रुद्राक्षको बिरुवा रोपेर मनाइयो विश्व वातावरण दिवस


दैलेख । गुराँस गाउँपालिकाले कार्यालय परिसरमा रुद्राक्षको विरुवा रोपेर विश्व वातावरण दिवस मनाएको छ । वन, वातावरण तथा विपद् व्यवस्थापन शाखाको आयोजनामा वीरेन्द्रनगर नगरपालिका सुर्खेतका प्रमुख मोहनमाया ढकाल तथा गुराँस गाउँपालिकाका उपाध्यक्ष शिवाकुमारी खड्काबाट संयुक्त रुपमा कार्यालय परिसरमा रद्राक्षको विरुवा रोप्ने कार्य गरिएको हो ।

कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले पछिल्लो समय वन, वातावरण विनाश कार्य भइरहेको बेला हरेक व्यक्ति तथा कार्यालयले यसरी नै विरुवा रोप्ने कामको थालनी गर्नु सकारात्मक कुरा भएको बताईन् । ठुलो पर्यटकिय सम्भावना बोकेको गुराँस गाउँपालिकाले धार्मिक रुपमा समेत राम्रो मानिएको बहुमुल्य रुद्राक्षको विरुवा कार्यालय परिसरमा रोपेर विश्व वातावरण दिवस मनाएकोमा धन्यबाद दिँदै वन, वातावरण संरक्षणमा समेत थप ध्यान दिन आग्रह गरिन् ।

उनले बृक्षारोपण प्राकृतिक विपद् रोकथामको एउटा उपाय भएको भन्दै प्राकृतिक सुन्दरताका लागि समेत बृक्षारोपण गर्नुपर्ने बताईन् । हरेक नागरिकले समेत यसरी नै एक व्यक्ति एक विरुवा रोप्ने कार्यको सुरुवात गर्न सके वातावरण संरक्षणमा ठुलो लगानी गर्न नपर्ने उनले धारणा राखिन् ।

कार्यक्रममा बोल्दै गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बि.सीले वन,वातावरण भएमात्रै नागरिकको जिवन सम्भव हुने बताउँदै गाउँपालिकाले प्राकृतिक सुन्दरतासंगै नागरिकको स्वास्थ्यलाई समेत ध्यान राखेर बृक्षारोपणका कार्यक्रमहरु गर्ने गरेको बताए । उनले धर्म र संस्कृतिसँग समेत जोडिएका विरुवाहरुको रोपण कार्य आँफुहरुले गाउँपालिका तथा गाउँपालिका मातहतका कार्यालयहरुमा रोप्ने योजना बताएको बताए । अध्यक्ष बि.सीले हरेक नागरिकले आफ्नो घरआगनमा एउटा मात्रै विरुवा रोपे हरियाली खोज्न टाढा जानै नपर्ने बताए् ।

यस्तै उपाध्यक्ष शिवा कुमारी खड्काले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट २५ किलोमिटर मात्रै नजिक रहेको गुराँस गाउँपालिका पर्यटकिय हिसाबले ठुलो सम्भावना बोकेको स्थान भएकोले प्राकृतिक सुन्दरतामा समेत आँफुहरुको ध्यान गएको बताईन् । नागरिक सचेतनाका लागि समेत आँफुहरुले यो कार्यक्रमको आयोजना गरेको खड्काले बताईन् ।