निशुल्क एम्बुलेन्स सेवाले गर्भवती महिलाहरुलाई सहज

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं १५ की पूर्णा वलीले सुत्केरी हुन अस्पताल आउँदा लाग्ने एम्बुलेन्स खर्च तिर्नु परेन् । उनलाई नगरपालिकाले एम्बुलेन्स खर्च बापत चार हजार रुपैयाँ उपलब्ध गरायो । नगरपालिकाले निशुल्क एम्बुलेन्स सेवा तथा स्वास्थ्य संस्थासम्म आउँदा लाग्ने खर्चको व्यवस्था गरे पछि गर्भवती महिलाहरुलाई सहज भएको छ ।

डेढ महिनादेखि नगरपालिकाले निशुल्क एम्बुलेन्स सेवा दिन थाले पछि गर्भवती महिलाहरुलाई सहज भएको हो । नगरपालिकाकै एम्बुलेन्स प्रयोग नगरेको अवस्थामा अन्य एम्बुलेन्समा स्वास्थ्य संस्थामा आए पनि नगरपालिकाले यातायात खर्च दिने गरेको छ । नगरपालिकाले हाल छुट्टै नगर अस्पताल समेत संचालन गरेको छ । नगरपालिका भित्र रहेका अन्य स्वास्थ्य संस्था बाहेक नगर अस्पतालबाट पनि प्रसुती सेवा पनि दिँदै आएको हो । नगर अस्पतालमार्फत एम्बुलेन्स सेवा संचालनमा ल्याइएको छ ।

वीरेन्द्रनगर ८ आवास क्षेत्रकी अम्बिका मल्लले सहजै एम्बुलेन्स सेवा पाएको बताइन् । उनले भनिन्, ‘एम्बुलेन्स खर्च दिनु परेन् । जाँदा आउँदा नगरकै एम्बुलेन्सले गर्दा सहज भयो । नगर अस्पतालमै राम्रो सेवा पाउँदा खुशी लाग्यो ।’ वीरेन्द्रनगर १२ की धना जैशीले पनि निशुल्क एम्बुलेन्स सेवा धेरै सहज भएको बताइन् । नगरको एम्बुलेन्स फोन गर्न वित्तिकै समयमै आएको र आफुले नगर अस्पतालमा गएर सुरक्षित रुपमा बच्चा जन्माएको उनले बताइन् ।
नगर अस्पतालका इन्चार्ज उदय थापाका अनुसार हालसम्म नगरपालिकाका ३० जना महिलाका लागि निशुल्क एम्बुलेन्स सेवा लिएका छन् । नगरको एम्बुलेन्स बाहेकका अन्य एम्बुलेन्सले अस्पतालसम्म आएको पनि एम्बुलेन्स खर्च उपलब्ध गराउने गरिएको उनको भनाई छ । उनले भने, ‘कहिलेकाँही नगरको एम्बुलेन्स बाहेक अन्य एम्बुलेन्समा आउने गर्भवती महिलाहरुलाई लागेको खर्च दिने गरेका छौैैँ ।’

नगरपालिकाले गर्भवती महिलाहरुका लागि भिडियो एक्सरे सेवा, नेपाल सरकारले उपलब्ध गराउने बाहेक नगरपालिकाले छुट्टै सुत्केरी खर्च पनि उपलब्ध गराउँदै आएको छ । नगरपालिकाले सुत्केरी महिलाहरुलाई एक हजार पोषण खर्च भनेर उपलब्ध गराउने गरेको छ ।

नगर उपप्रमुख मोहनमाया ढकालले नगरका आमा सुरक्षा कार्यक्रममार्फत गर्भवती महिलाहरुलाई विभिन्न सुविधा दिँदै आएको बताइन् । उनले अहिले नगर अस्पताल संचालन गरेर प्रसुती सेवा पनि दिएको जानकारी दिइन् । नगरपालिकाको चार वटा वडा विकट भएकाले विशेष गरेर त्यहाँबाट अस्पताल आउँदा लाग्ने खर्चमा राहत होस् भन्ने उद्देश्यले पनि निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको उनको भनाई छ ।

विशेष गरी वीरेन्द्रनगरका वडा नं १३, १४, १५ र १६ विकट छ । त्यहाँका गर्भवती तथा सुत्केरी महिलाहरुलाई आमा सुरक्षा कार्यक्रम अझै प्रभावकारी हुने नगरपालिकाले अपेक्षा गरेको छ । नगर उपप्रमुख ढकालले भनिन्, ‘नगरपालिकाका केही क्षेत्र विकट छन् । घरमै सुत्केरी हुने सम्भावना भएकाले स्वास्थ्य संस्थामा आएर सुरक्षित रुपमा सुत्केरी गराउन सकिन्छ भन्ने उद्देश्यले नगरपालिकाले निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको हो ।’