उपनिर्वाचनका लागि १० करोड बजेट स्वीकृत

सुर्खेत । अर्थ मन्त्रालयले उपनिर्वाचनका लागि निर्वाचन आयोगलाई १० करोड रुपैयाँ स्रोत सुनिश्चित गरेको छ । आयोगले गत फागुनमा उपनिर्वाचनका लागि स्रोत सुनिश्चित गर्न अर्थ मन्त्रालयसँग आग्रह गरेको थियो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले माग गरे अनुसार नै खर्च गर्ने गरी अर्थ मन्त्रालयले बजेट सुनिश्चितताको स्वीकृति दिएको जानकारी दिए । उनले बजेट सुनिश्चित भएपछि निर्वाचनको व्यवस्थापकीय काम छिट्टै अगाडि बढ्ने बताए । प्रवक्ता पौडेलले उम्मेदवारी दर्ताअघि नै दुवै जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा खर्चको अख्तियारी पठाइने बताए ।

इलाम–२ प्रतिनिधि सभा सदस्य र बझाङ १ (क) मा प्रदेश सभा सदस्यको निर्वाचन वैशाख १५ गते हुँदै छ । निर्वाचनका लागि चैत २४ गते उम्मेदवारी दर्ता हुने छ । आयोगले चैत दोस्रो साता नै उपनिर्वाचनका लागि दुवै क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त गर्ने छ । चैत २२ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने छ ।

त्यसअघि निर्वाचन अधिकृतको कार्यालय व्यवस्थापनका लागि खर्चको अख्तियारी पठाइने प्रवक्ता पौडेलले बताए । इलाम–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ र बझाङ १ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि दुवै क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

दुवै क्षेत्रमा उपनिर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री २०७९ मङ्सिर ४ मा सम्पन्न निर्वाचनपछि मौज्दात सामग्रीबाट नै पूर्ति गर्न प्रयासरत रहेको प्रवक्ता पौडेलले बताए ।