इलाम -२ को उपचुनावमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय


सुर्खेत । इलामको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा हुने उपचुनावमा नेकपा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले इलाम–२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

एमालेका तत्कालीन उपाध्यक्ष एवम् संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि इलाम–२ को सांसद पद रिक्त रहेको थियो । सुहाङ नेम्वाङ सुवासचन्द्र नेम्वाङका कान्छा छोरा हुन् । सुहाङ पेशाले अधिवक्ता हुन् ।

यस्तै, एमालेले बझाङ–१ को प्रदेशसभा (क) मा हुने उपचुनावमा दमन भण्डारीलाई उम्मेदवार बनाउने भएको छ ।

आज बसेको पार्टी सचिवालय बैठकले बझाङ–१ को प्रदेशसभा (क) बाट भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । त्यस क्षेत्रमा विजयी नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत वर्ष गाडी दुर्घटनामा परेर निधन भएको हो ।

आगामी वैशाख १५ गते इलाम प्रतिनिधि सभा क्षेत्र नंबर २ र बझाङ–१ को प्रदेशसभा (क) मा हुने उपचुनावको लागि यही चैत २४ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।

उम्मेदवारको विरोधमा चैत २५ गते उजुरी दिन सकिने छ । २५ गते नै दिउँसो ३ बजेदेखि चैत २६ गते बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवम् निर्णय हुने आयोगले जानकारी दिएको छ । चैत २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने कार्यक्रम छ । वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान केन्द्रमा मतदान हुनेछ ।