एकमहिना अघिदेखि हत्याको योजना बनाएर गिरीमाथी गोली प्रहारगर्नेहरु आज सार्वजनिक

सुर्खेत । एकमहिना अगाडीदेखि नै हत्याको योजना बनाएर सुर्खेतका बिनोद गिरीलाई गोली प्रहार गर्ने चारजनालाई आज सुर्खेत प्रहरीले सार्वजनिक गरेको छ । हिजो राती करिब साढे आठबजे वीरेन्द्रनगर १ गैरीचोकमा तरुणदल सुर्खेतका विनोद गिरीमाथी गोली प्रहार भएको थियो ।

हत्या गर्ने मनसायले गोली प्रहार भएपनि गिरीले ज्यान बचाउ सफल भएका छन् । गोली प्रहारमा संलग्न कैलालीको गौरीगंगा नगरपालिका–२ का १८ वर्षीय इन्द्र बिक, १८ वर्षीय भरत भुल, वीरेन्द्रनगर–४ का ३७ वर्षीय राजन गिरी र भारतको उत्तर प्रदेश बिजनौर जिल्लाको दादानगरगञ्जस्थित जोसीपन मोहल्ला बस्ने १९ वर्षीय रोहित राजपुत पक्राउ परेका हुन्।

रोहित राजपुत सुटरको रुपमा प्रयोग भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कैलालीका इन्द्र बि.कले एकजना पक्राउ नपरेका (मुख्य योजनाकार) व्यक्तिसँग निरन्तर एकमहिना अगाडीदेखि सामाजिक सञ्जाल ह्वाट्सएपमा निरन्तर कुराकानी गरेको र सोही बमोजिम सबै योजना बनेको थियो ।

पक्राउ नपरेका (अज्ञात) व्यक्तिले सुटरलाई दुईलाख, योजनामा सहयोगी इन्द्र बि.कलाई एकलाख पचासहजार रुपैयाँ दिन्छु भन्दै बिनोद गिरीको हत्या गर्न लगाएको प्रहरी अनुसन्धानमा खुलेको छ । शनिबार साँझ वीरेन्द्रनगर १ गैरीचोकमा बिनोदमाथी गोली प्रहार गर्नेक्रममा सुटरको मोटरसाइकल र बिनोद गिरीको गाडी आपसमा ठोकिएको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बिनोद गिरीको गाडी र सुटरको मोटरसाइकल ठोकिएपछि केही प्रमाण छोडेर उनीहरु भागेको र लगत्तै प्रहरी अनुसन्धानमा उनीहरु पक्राउ पर्न सफल भएका हुन् ।

अज्ञात तथा योजनाकारको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ । घटना के कती कारणले घटाइएको हो भन्ने विषय अनुसन्धानकै क्रममा रहेको समेत प्रहरीले जनाएको छ ।