आजियटा ग्रुपद्वारा एनसेलको ८० प्रतिशत स्वामित्व बिक्री


सुर्खेत । बेलायतमा स्थापना गरिएको एक कम्पनीले दूरसञ्चार सेवा प्रदायक एनसेलको ८० प्रतिशत स्वामित्व खरिद गरेको छ । नेपाली मूलका सिङ्गापुरका नागरिक सतीशलाल आचार्य निर्देशक रहेको स्पेक्ट्रलाइट यूके लिमिटेडले मलेसियन कम्पनी आजियटाको स्वामित्व खरिद गरेको हो । लन्डनमा वन फ्लिट प्लेसमा दर्ता ठेगाना रहेको कम्पनीको एनसेलमा प्रवेशसँगै स्वामित्व खरिदबिक्रीको नयाँ चरण शुरु भएको छ ।

एनसेलमा रहेको आफ्नो ८० प्रतिशत स्वामित्व स्पेक्ट्रलाइटलाई बिक्री गरेको आजियटाले हिजो विज्ञप्ति निकालेर पुष्टि गरेको छ । विज्ञप्तिमा आजियटाले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रीसम्बन्धी सम्झौता पूरा भएको र एनसेलबाट पूर्ण रूपमा अलग भएको उल्लेख गरेको छ ।

नेपालको विद्यमान व्यावसायिक वातावरण र कर प्रणालीलाई कारण देखाउँदै आजियटाले बाहिरिएको उल्लेख गरेको छ । २०७२ साल पुसमा टेलियासोनेराबाट स्वामित्व खरिद गर्दा एक अर्ब तीन करोड अमेरिकी डलर अर्थात् झण्डै एक खर्ब ४० अर्ब रुपैयाँ तिरेको आजियटाले अहिले भने पाँच करोड अमेरिकी डलर अर्थात् झण्डै ६ अर्ब रुपैयाँमा बिक्री गरेको छ ।