मणिपुर हिंसालाई लिएर भारतका दुवै सदनको बैठकमा अवरोध

सुर्खेत । भारतको मणिपुरमा भइरहेको जातीय हिंसा नियन्त्रणको लागि पर्याप्त प्रयास नगरेको भन्दै भारतमा विपक्षी दलका सांसदहरुले दुवै सदनका बैठक अवरुद्ध गरेका छन् ।

विपक्षी सांसदहरुको अवरोधका कारण लोकसभा र राज्यसभा दुवै सदनका बैठक आगामी सोमवारसम्मका लागि स्थगित भएको बीबीसी हिन्दीले जनाएको छ ।

विपक्षी सांसदहरु इन्डिया फर मणिपुर लेखेका पर्चा हातमा बोकेर संसद् बैठकमा प्रवेश गरेका थिए । उनीहरुले मणिपुरको अवस्था र त्यहाँको स्थिति नियन्त्रणका लागि भइरहेका प्रयासबारेमा प्रधानमन्त्री नरेन्द्र मोदी संसद् बैठकमा आएर जवाफ दिनुपर्ने माग गरेका छन् ।

मणिपुरमा चलिरहेको जातीय हिंसामा एक सय ६० जनाभन्दा धेरैले ज्यान गुमाएका छन् । ६० हजार जनाभन्दा धेरै विस्थापित भएका छन् । पछिल्लो समय महिलामाथि दुर्व्यवहारका घटना बढेपछि अन्तर्राष्ट्रिय चासो पनि बढेको छ।