बैतडीकी माया लुहार हत्याका आरोपी सशस्त्र प्रहरी जवान पक्राउ

सुर्खेत । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्यामा संलग्न भएको आरोप लागेका सशस्त्र प्रहरी जवान भरतराम कोली कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ परेका छन् । कोली आज आइतवार महेन्द्रनगरको बसपार्क क्षेत्रबाट पक्राउ परेका हुन् ।

प्रहरी निरीक्षक भरत गिरीका अनुसार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले हत्यामा संलग्न रहेको आरोप लागेका बैतडीको शिवनाथ गाउँपालिका–४ का सशस्त्र प्रहरी जवान कोलीलाई पक्राउ गरेको हो ।

बिदामा घर आएका बेला मायाको हत्या गरेको कोलीमाथि आरोप छ । मायाका परिवारजनले कोलीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएपछि उनको खोजी भइरहेको थियो ।

यही मङ्सिर १३ गते बैतडीमा मायाको घाँटी रेटेर हत्या गरिएको थियो । मायाको साथमा रहेकी नेहा लुहारको समेत घाँटी रेटेर हत्याको प्रयास गरिएको थियो । घाइते अवस्थामा भेटिएकी नेहाको अहिले उपचार भइरहेको छ । बैतडीको शिवनाथ गाउँपालिका–६ को शिवनाथ मन्दिर नजिकै मायाको शव फेला परेको थियो भने नेहा घाइते अवस्थामा भेटिएकी थिइन् ।