प्रधानसेनापति खुल्ला म्याराथनमा राजन रोकायले जिते उपाधि


सुर्खेत । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको दुई सय ६०औं वार्षिकोत्सवका अवसरमा आयोजित ४२ दशमलव एक सय ९५ दूरीको ‘प्रधानसेनापति खुल्ला म्याराथन दौड’ प्रतियोगितामा सेनाका धावक राजन रोकाय प्रथम भएका छन् ।

प्रधानसेनापति प्रभुराम शर्माले जंगी अड्डास्थित खेलमैदानमा आयोजित समारोहमा प्रथम हुन सफल रोकायलाई तीन लाख नगद पुरस्कार र सिरिक अटोमोबाइल्स प्रालिबाट प्रायोजन गरिएको यामाहा मोटरसाइकलको साँचो हस्तान्तरण गरे ।

उक्त प्रतियोगितामा अमलदार खडकबहादुर खड्का द्वितीय तथा जमदार कृष्णबहादुर बस्नेत तृतीय भए । द्वितीय हुने खड्कालाई दुई लाख र तृतीय हुने बस्नेतलाई एक लाख नगद र प्रमाणपत्र प्रदान गरियो । २०७२ सालदेखि सेना दिवसका अवसरमा सञ्चालित यो प्रतियोगिता आठौं संस्करण हो ।

हाफ म्याराथन खुल्लातर्फ दीपक अधिकारी प्रथम, मुकेश पाल द्वितीय र तीर्थ पुन तृतीय घोषित भए । प्रतियोगिताका प्रथम, द्वितीय र तृतीयलाई क्रमश स् ७५ हजार, ५० हजार र ३५ हजार नगद प्रदान गरियो । प्रतियोगितामा प्रथम हुने धावकलाई काठमाडौँ महानगरपालिकाकातर्फबाट यामाहा मोटरसाइकल प्रदान गरिएको थियो ।

महिलातर्फको हाफ म्याराथनमा राजपुरा पछाई, पूर्णलक्ष्मी न्यौपाने र निर्मला केसीले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरी ७५ हजार, ५० हजार र ३५ हजार नगद तथा प्रमाणपत्र प्राप्त गरेका थिए । प्रथम हुने महिला धावकलाई कुजु नेपाल प्रालिबाट स्कुटर तथा पूर्वप्रधानसेनापतिद्वारा उपलब्ध गराइएको २५ हजार प्रदान गरिएको थियो ।

सैनिक महाविद्यालय, विद्यालय, राष्ट्रिय सेवा दलका क्याडेट सम्मिलित १० किमी दौडतर्फ सोनु घतानी प्रथम, साधना श्रेष्ठ द्वितीय, मनिषा गिरी तृतीय भई क्रमशः १० हजार, सात हजार र पाँच हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरिन् । सोही समूह र दूरीको छात्रतर्फ विकेश घिमिरे, प्रज्वल श्रेष्ठ र सुशील बोहरा क्रमशः प्रथम, द्वितीय र तृतीय भए ।

दस किमी दूरीकै सैनिक अधिकृत महिला सम्मिलित प्रतियोगितामा अस्मिता जिसी, दुर्गा केसी र गीता गुरुङ क्रमशः प्रथम, द्वितीय र तृतीय घोषित भइन् । सैनिक अधिकृत पुरुषतर्फ सुरज ऐरी, विशाल चन्द्र र जिलेश्पीजंग कार्कीले पनि प्रथम, द्वितीय र तृतीय घोषित भई क्रमश : १० हजार, सात हजार र पाँच हजार नगद तथा प्रमाणपत्र प्राप्त गरे ।

प्रधानसेनापति सम्मिलित पाँच किमी दूरीको वाकाथनमा सैनिक उच्च अधिकृतका साथै समाजका विभिन्न क्षेत्रका व्यक्ति सहभागी थिए । सेनाको त्रिभुवन आर्मी क्लब मुलुकको खेलकुद क्षेत्रको च्याम्पियन विभागीय टोली हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान दिँदै आएको सेनाले मुलुकभित्रका विभिन्न विधाका खेलाडीको पहिचान गरी तालिम प्रशिक्षणका साथ आफ्नो क्लबमा आबद्ध गर्दै आएको छ ।