पानीजहाज र निर्माण क्षेत्रमा जाने कामदारको परीक्षा कात्तिकमा

सुर्खेत । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गतको नयाँ क्षेत्र पानीजहाज निर्माण (सिप बिल्डिङ)का लागि दक्षिण कोरिया सरकारले नेपालमा आगामी कात्तिकमा भाषा परीक्षा गराउने भएको छ ।

कोरियाको मानव संशाधन बोर्डले छनोट परीक्षाको सम्भावित मितिबारे नेपाललाई जानकारी गराएको वैदेशिक रोजगार विभाग ईपीएस शाखाले जनाएको छ । कोरियाले नेपालबाट उत्पादनमूलक क्षेत्रमा हाल मासिक २ हजारको हाराहारीमा श्रमिक माग गर्दै आएको छ । कात्तिकमा पहिलो चरणमा १ हजार पानीजहाज र निर्माण क्षेत्रमा लैजाने मानव संशोधन बोर्डले जानकारी गराएको शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी दिए ।

तत्काललाई कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रमा नेपाली युवाका लागि परीक्षा नगर्ने र त्यसको सट्टा सिप बिल्डिङ क्षेत्रको परीक्षा गर्ने कोरियाले जानकारी गराएको उनले बताए । ‘कोरियामा कार्यरत नेपालीले छिटोछिटो कार्यस्थल परिवर्तन गर्ने गरेका कारण पनि त्यहाँ रोजगारदाताले नेपालीको माग संख्या घटाउँदै लगेका हुन् । पछिल्लो समय कोरियामा विदेशी श्रमिकको माग घटेका कारण नेपालबाट जाने युवाको प्रवेश दर पनि घट्दै गएको छ ।’ उनले भने, ‘आगामी सेप्टेम्बर तथा नोभेम्बरमा हुने माग संख्याका आधारमा पुस र माघमा मात्र परीक्षा गर्न सकिने छ । उत्पादनमूलक क्षेत्रमा पनि हाल ८ हजार युवा रोष्टरमा छन् । यी कामदार पठाउन एक वर्षभन्दा धेरै लाग्छ ।’

कृषि क्षेत्रमा ८ हजारभन्दा बढी युवालाई छनोट गरेर रोष्टर तयार हुने भएकाले अब दुई वर्ष कृषि तथा पशुपालन क्षेत्रमा परीषा नहुने उनको भनाइ छ । कोरियाले सोहीअनुसारको माग निरन्तर गरेमात्र पुस र माघमा उत्पादनमूलक क्षेत्रको परीक्षा हुने देखिएको छ । कोरियाले ३.३ महिनामा विदेशी श्रमिकको माग कोटा निर्धारण गर्ने भएकाले हरेक ३ महिनामा ३ हजारदेखि ३५ सय नेपाली युवाको माग भएमात्र उत्पादनमूलक क्षेत्रको परीक्षा आगामी ६ महिनाभित्र हुनेछ ।

पछिल्लो समय रोष्टरमा रहेका युवाको समेत माग नआएपछि शाखाले रोष्टरमा रहेका ८० प्रतिशत युवा कोरिया प्रवेश नगरेसम्म अर्को भाषा परीक्षा नगर्ने नीति लिएको छ । ईपीएस शाखाले कृषि क्षेत्रको छनोट भाषा परीक्षा भने सन् २०२४ मा नगर्ने जनाएको छ ।

कृषि तथा पशुपालन क्षेत्रतर्फ दोश्रो चरणको कोरियन भाषा परीक्षा अर्थात् ईपीएस टपिक परीक्षा पास भएका मध्ये सीप परिक्षणमा ८ हजार १ सय ९८ युवा पास भएका छन् ।

शुक्रबार नतिजा प्रकाशन गर्दै ईपीएस शाखाले मानव संशाधन बोर्ड कोरियाबाट गत फागुन २३ देखि वैशाख १३ गतेसम्म भएको कृषि तथा पशुपालन क्षेत्रतर्फको दोश्रो चरणको कोरियन भाषा परीक्षामा जम्मा २६ हजार ८ सय ७६ जना परीक्षार्थी रहेकोमा परीक्षामा समावेश भएका २४ हजार ३ सय २६ मध्ये सीप परीक्षणबाट ८ हजार १ सय ९८ जना उम्मेदवार उत्तीर्ण भएको जनाएको छ ।

उत्तीर्ण हुनेको स्वास्थ्य परीक्षण तथा रोजगार आवेदन फाराम भर्ने काम केही दिनमा सम्पन्न गरी रोष्टर तयार गरिने भएको छ । कोरियाली भाषा परीक्षा उत्तीर्ण गर्नु भनेको रोजगार अनुमति प्रणाली अन्तर्गत रोजगार प्रक्रियामा समावेश हुनको लागि रोष्टरमा सूचीकृत हुनुमात्र रहेको जनाउँदै शाखाले दक्षिण कोरियामा रोजगारीको ग्यारेण्टी हुन्छ भन्ने नभएको स्पष्ट पारेको छ ।

रोष्टरमा नाम समावेश भए पनि आफ्नो पेशा एवं व्यवसायलाई समेत निरन्तरता दिन शाखाले अनुरोध गरेको छ । सीप परीक्षणमा पास भए पनि प्रहरी प्रतिवेदन तथा स्वास्थ्य परीक्षणमा सफल भएपछि मात्र रोजगार आवेदन फाराम भर्नका लागि आवेदन दिन सकिने शाखाले जनाएको छ ।