नेपाल भारत ए सँग ९ विकेटले पराजित, समूह चरणबाटै बाहिरियो


सुर्खेत । एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपाल भारत एु सँग ९ विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय ६८ रनको सामान्य लक्ष्य भारत ए ले २२ ओभर १ बलमा १ विकेट गुमाएर भेटायो । भारतका अभिषेक शर्माले ८७, साई सुदर्शनले नटआउट ५८ रन बनाए । बलिङतर्फ नेपालका कप्तान रोहित पौडेलले १ विकेट लिए ।

श्रीलङ्काको आर प्रेमदासा रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३९ ओभर २ बलमा १ सय ६७ रनमा अलआउट भयो । नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक बनाए । रोहित ८५ बलमा ६५ रन बनाएर आउट भए । यस्तै गुलसन झाले ३८ रन बनाए । नेपालका अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । कुशल भुर्तेल शून्य, आसिफ शेख ७, देव खनाल १५, भीम सार्की ४ र कुशल मल्ल शून्य, सोमपाल कामी १४, पवन सर्राफ ६ र ललित राजवंशी ३ रनमा आउट भए । यस्तै किशोर महतो २ रनमा नटआउट रहे ।

नेपालले १० ओभरमा ३७ रन बनाउँदा ५ विकेट गुमाएको अवस्थामा रोहित र सोमपालले पारी सम्हालेका थिए । त्यसपछि छैटौँ विकेटका लागि रोहित र सोमपाल कामीले ५३ रनको साझेदारी गरेका थिए ।

बलिङतर्फ भारत ए का निशान्त सिन्धुले ४, आरएस हङ्गरगेकरले ३ र हर्षित रानाले २ विकेट लिए ।

यो हारसँगै नेपाल एक खेलअघि नै समूह चरणबाट बाहिरिएको छ । समूह बी मा रहेको नेपाल पहिलो खेलमा पाकिस्तान  ए सँग ४ विकेटले पराजित भएको थियो । अब नेपालले अन्तिम खेलमा पर्सि बुधवार यूएई ए सँग खेल्नेछ । यूएई पनि समूह चरणबाटै बाहिरिइसकेको छ । यो समूहबाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् ।

समूह ए मा ओमान, अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्काको ए टोली रहेका छन् । यो समूहबाट ओमान बाहिरिइसके पनि सेमिफाइनलमा पुग्ने टोलीको टुङ्गो लागिसकेको छैन । प्रतियोगितामा नेपालबाहेक सबै टिमले ‘ए’ टोली पठाएका छन् । प्रतियोगिताको फाइनल खेल साउन ७ गते आइतवार हुनेछ ।